विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमा लगाएको नाकाबन्दीमा नबोल्नु र वाम एकता हुनुले नेपाली काङ्ग्रेसले अघिल्लो निर्वाचनमा पराजय बेहोरेको बताएका छन् ।

नेपाली काङ्ग्रेसको प्रदेश भेलालाई सम्बोधन गर्दै विराटनगरको वीरेन्द्र सभागृहबाट देउवाले यस्तो बताएका हुन् ।

‘ब्लकेड’ (नाकाबन्दी)मा काङ्ग्रेसले केही बोलेन । ओली र कम्युनिष्टले यही कुरा बोलेर राष्ट्रवादी जस्तो देखिए,’ उनले भने, ‘त्यसैले बहुमत उनीहरूले पाए ।’

तर, काङ्ग्रेस यसपटक मात्रै नहारेको पनि देउवाले बताए । उनले भने, ‘अहिले २ पार्टी मिल्दा काङ्ग्रेस हार्याे । पहिले नमिल्दा नि हारेकै हो ।’

फरक प्रसङ्गमा बोल्दै देउवाले निर्मला पन्तको बलात्कार र हत्याका दोषी पत्ता लगाउन सरकारले नै नचाहेको बताए ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भइरहेको कार्यक्रममा प्रदेश १ का काङ्ग्रेसका नेता र जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ । यही मङ्सिर अन्तिम हप्ता बस्ने काङ्ग्रेसको महासमिति बैठकको सुझाव सङ्कलन गर्न भेला आयोजना गरिएको बताइएको छ ।

 बिहान १० बजे शुरु भएको भेलामा महासमिति बैठकको राजनीतिक प्रस्तावमाथि मस्यौदा सुझाव सङ्कलन हुने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस मोरङले बताएको छ । जिल्ला सभापति डिगबहादुर लिम्बूले प्रदेश भेलामा ६ सय हाराहारी प्रदेशका काङ्ग्रेस नेता र जनप्रतिनिधिहरू सामेल भएको बताए ।

sujhab congress - Copy