इटहरी / इटहरीको एक विद्यालयको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षले आफ्नै विद्यालयको पठनपाठन नपत्याएको भन्दै आलोचना भएको छ । इटहरी–९ मा रहेको जनता माध्यमिक विद्यायलको व्यवस्थापन समितिमा हालसालै नियुक्त भएका काशिनाथ दंगालले आफ्ना सन्तान भने निजी विद्यालयमा पढाएको भन्दै आलोचना भएको हो ।

दंगाल सामुदायिक विद्यालयको बागडोर सम्हाल्ने व्यवस्थापन समितिमा बसेको तर आफ्नी छोरी भने निजी विद्यालयमा पढाएको व्यवस्थापन समितिकै पदाधिकारीहरूले गुनासो गरेका छन् । आफ्नी श्रीमती अस्मिता आचार्य दंगाल शिक्षक र आफू विद्यालय व्यवस्थापन समिति अध्यक्ष भए पनि आफ्ना सन्तान निजीमा पढाएर दंगालले आफ्नै नेतृत्वको विश्वास नगरेको विद्यालय व्यवस्थापन समितिका एक पूर्व अध्यक्षले बताए । यस अगाडि राजनीतिक दबाबमा ३ महिनाको अन्तरमा खोटाङबाट सुनसरीको भलुवा र भलुवाबाट जनता स्कुलमा श्रीमती अस्मिताको सरुवा गराउन सफल दंगालको जनता स्कुल सर्कलमा आलोचना भएको थियो ।

दंगालले मात्रै पत्याएनन् आफ्नै व्यवस्थापन

हालसालै राजनीतिक आडमा विद्यालय व्यवस्थापन समितिको बागडोर सम्हालेका दंगाल मात्रै आफ्नै सन्तानलाई आफ्नो व्यवस्थापनको विद्यालयमा नपढाउने अध्यक्ष भएको भेटिएको छ । उनीबाहेक इटहरीका विभिन्न सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले आफ्ना स्कुले सन्तानलाई आफ्नै व्यवस्थापनको विद्यालयमा पढाएको पाइएको छ । इटहरी–४ को कचना महादेव स्कुलको व्यवस्थापन समिति अध्यक्ष दामोदर देवकोटाले आफ्ना छोरालाई त्यही विद्यालयमा पढाएका छन् ।

आफ्ना उच्च शिक्षा हासिल गरेका तीन छोरीलाई समेत देवकोटाले सोही विद्यालयमा पढाएका थिए । इटहरी–४ कै सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम कोइरालाले पनि आफ्ना स्कुले सन्तान आफ्नै विद्यालयमा पढाएका छन् । कबिर माध्यमिक विद्यालय इटहरी–६ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रप्रसाद कोइराला र ज्योति मावि इटहरी–५ का अध्यक्ष बन्नुलाल चौधरीका सन्तानले भने स्कुले जीवन पार गरिसकेका छन् । यसरी आफ्ना निकटस्थ सबै व्यवस्थापन समितिका स्कुले सन्तानहरू आफ्नै व्यवस्थापनको विद्यालयमा पढाए पनि जनता स्कुलको व्यवस्थापन समिति अध्यक्ष दंगालले भने आफ्नै विद्यालयमा पढाएका छैनन् ।

उनकी एक छोरी इटहरीकै वाइ पोइन्टिङ नामक निजी विद्यालयमा पढ्दै छिन् । निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बुढाथोकीले आफू विद्यालय व्यवस्थापन समितिमा आउनासाथ आफ्नी छोरीलाई निजीबाट सामुदायिक विद्यालयमा भर्ना गरेको बताए । उनले भने, ‘आफूले नेतृत्व गरेको विद्यालयमा आफ्नै सन्तान भर्ना गरेर मैले अन्य अभिभावकहरूमा ऊर्जा दिन खोजेको थिएँ ।’

‘आफ्नै व्यवस्थापन नपत्याउनु दुःखद’

आफूले व्यवस्थापन समितिको बागडोर सम्हालेको बेला एक निजी स्कुल पढ्दै गरेकी छोरीलाई कक्षा ९ मा भर्ना गरेको बताएका बुढाथोकीले स्कुले सन्तान भएका व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र पदाधिकारीहरूले अनिवार्य आफ्नै विद्यालयमा सन्तान भर्ना गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘आफू निजी विद्यालयमा सन्तान भर्ना गर्ने तर अरू अभिभावकहरूलाई भने सामुदायिकमा भर्ना गर्नू कसरी भन्न सकिन्छ ?’ बुढाथोकीको जस्तै तर्क छ पूर्व माओवादीका केन्द्रीय सदस्य तथा नेकपा इटहरीका प्रभावशाली नेता सागर सुवेदीको ।

सुवेदी हालसालै जनता स्कुलको व्यवस्थापन समितिमा निजी विद्यालयमा आफ्ना सन्तान पढाउने व्यक्ति सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएको भन्दै गुनासो आएको बताउँछन् । उनी भन्छन्, ‘कानुनकै कुरा गर्दा त अभिभावक भएर मात्रै होइन विद्यालयको सहयोगी, चन्दादाता आदि भएर पनि व्यवस्थापन समितिमा बस्न मिल्ला तर आफ्ना सन्तान निजीमा राखेर आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नै हुनु चाहिँ नैतिक प्रश्न हो ।’ निजी मोह हुँदा व्यवस्थापन समिति अध्यक्ष हुन नहुने भन्ने तर्क गर्छन् युवा संघ सुनसरी २ का पूर्व अध्यक्ष होमनाथ धमला र बगैँचा टोल विकास संस्थाका अध्यक्ष सुनिल कार्की । इटहरी ५ का स्थानीय दंगाल इटहरी ९ को विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनु, आफ्ना सन्तान निजीमा हालेर व्यवस्थापन समितिको बागडोर लिनु दुवै गलत भएको कार्की बताउँछन् ।

भन्छन्, ‘यो त विद्यालय सुधार भन्दा विद्यालयबाट आर्थिक रूपमा सुधार लिन आएको जस्तो देखियो ।’ जनता स्कुलको मासिक भाडा व्यापारीहरूबाट हजारौँ आउने, विभिन्न सभा, सम्मेलन र महोत्सवलाई मैदान भाडामा दिएर राम्रो कमाइ हुने भएकाले धेरैको आँखा लाग्ने कार्कीको भनाइ छ । राजनीतिक चलखेल र आर्थिक लोभले गैरअभिभावक पनि व्यवस्थापन समितिमा बस्न तम्सेको देखिएको कार्कीको मात्रै होइन धेरैको गुनासो रहिआएको छ । निजी विद्यालयको मोह नत्याग्नु तर सामुदायिक विद्यालयको व्यवस्थापनमा मुख ताक्नुले सामुदायिक विद्यालयमा शिक्षाको दुःखद अवस्था भएको इटहरीका स्थानीय बताउँछन् ।

नागरिक समाज इटहरीका सदस्य सुरेन्द्र तामाङ विद्यालय व्यवस्थापन समितिमा व्यवस्थापन भन्दा राजनीति गर्न आउने गलत प्रवृत्ति देखिएको बताउँछन् । उनी भन्छन्, ‘आफ्ना सन्तान निजीमा तर आफू सामुदायिक विद्यालयमा व्यवस्थापनको अध्यक्ष हुनुले यसको पुष्टि गर्छ ।’

विद्यालय टाढा भएकाले निजीमा पढाएँः

दंगाल यता, निजी विद्यायमा सन्तान पढाएर आफू सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भएर आलोचित भएका दंगाल भने जनता स्कुल टाढा भएकाले छोरीलाई निजीमा भर्ना गरेको बताउँछन् । आफू अभिभावक भनेर नभएर शिक्षासेवी भएकाले व्यवस्थापनमा गएको पनि दंगालले तर्क गरे । आफ्नै श्रीमती शिक्षिका र आफैँ व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालयमा किन आफ्नै बच्चा भर्ना नगर्नुभएको भन्ने प्रश्नमा दंगालले दैनिक स्कुल लान असहज भएको तर्क गरे । उनले भने, ‘जनता स्कुल टाढा भयो । दैनिक लान सजिलो भएन । अर्को वर्षबाट अंग्र्रेजी मिडियममा पढाइ सुरु भएपछि जनतामै भर्ना गराउँछु ।’