इटहरी/ गत वर्षको बाढीमा ३ जनाको ज्यान गएको मोरङको सुन्दरहरंैचामा खोलाको बाँध हचुवामा बाँध्दा भत्कन थालेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाको वडा नम्बर ४ को चरिगुवा तल्लो खापमा गरिएको जाली लगाउने र बाँध बाँध्ने कामको गुणस्तर नभएको स्थानीयको भनाइ छ ।

स्थानीय कमल चौधरीले बाँध बन्नासाथ भत्केपछि बस्तीमा त्रास बढेको बताए । उनले भने, ‘बाँध बाँध्ने नाममा झारो टार्ने काम मात्रै भयो । कुनै गुणस्तरीय काम भएन । त्यही भएर बनाउनासाथ जाली भत्कन थाल्यो ।’

बाँध बनाउन वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ र उपभोक्ता समितिले हेलचेक्र्याइँ गरेकाले यस्तो समस्या आएको अर्का स्थानीय होमनाथ धमलाले बताए । उनले भने, ‘बाँध भनेको मान्छेको जिउज्यान जोगाउने सवालको काम हो तर हचुवा कामले गर्दा जाली लाएकै हप्तामा भत्कन थाल्यो ।’ गत वर्ष सोही वडाबाट ३ जना महिलालाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । धमलाले यस्तो संवेदनशील काममा लापरवाही गरेर नगरपालिका र वडाले झारा टार्ने काम गरेको बताए । कमजोर जालीका कारणले बाढी बस्तीमा पुगेर मान्छे बगायो वा बेपत्ता भए त्यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने उनले बताए ।

खोलैखोलाले घेरिएको वडामा हचुवा बाँध ः स्थानीय
वडा नम्बर ४ को चरिगुवा तल्लो खापमा मात्रै होइन धेरै स्थानमा बाँधको लागि जाली लाउनैपर्ने छ । बुढी खोला, गछिया खोला, तेलिया खोला र भलिया खोलाका कारण बस्ती डुबानमा पर्ने गरेका छन् । तर, यस्ता जोखिमपूर्ण खोला रहेको वडामा रहेका बाँधका जालीहरू भत्कन थालेपछि वडाध्यक्ष श्रेष्ठ आलोचित बनेका छन् । स्थानीय विमल दाहाल खोलैखोलाको बीचमा रहेको वडामा खोला बाँध्ने काम नै राम्रो नहुनु दुःखद भएको बताउँछन्

उनी भन्छन्, ‘जति हुन्छ काम राम्रो हुनुपर्छ । आज लायो जाली भोलि हुने खाली । यस्तो हुनुभएन ।’ बनाउनासाथ भत्कने जाली निर्माणमा वडाध्यक्ष श्रेष्ठ सहितका सबै जनप्रतिनिधिले निगरानी र नियमन गर्नुपर्ने दाहालको भनाइ छ । आफैँ भलुवा खोला किनारमा बस्ने दाहाल बाँध बाँध्ने काम हचुवामा गर्न नहुने बताउँछन् ।

थोरै बजेटले स्तरीय काम हुन सकेन ः वडाध्यक्ष
यता, वडा अध्यक्ष श्रेष्ठ भने वडामा एकदमै कम बजेट आएकाले जालीको काम राम्रो नभएको स्वीकार्छन् । उनी भन्छन्, ‘एक जालीमा जाली बाहेकको ५ हजार ८ सय रुपैयाँमात्रै आउँछ । त्यो पैसाले ढुंगाकै दाम पनि पुग्दैन ।’ आफूले वडा नम्बर ४ को खोलाको समस्याको विषयमा १ करोडको बजेट माग गरे पनि नगरपालिकाले बजेट उपलब्ध गराउन नसकेको श्रेष्ठले बताए ।

हाल वडामा ८२ वटा जाली लगाइसकिएकोमा केही भने बाढीको पानीले भत्केको र केही लच्केको वडाध्यक्ष श्रेष्ठले बताए । किन बन्नासाथ जाली भत्किए भन्ने प्रश्नमा श्रेष्ठले थपे, ‘खोलाको काम भएकाले थोरै भत्काउने र कहिलेकाहीँ बगाउने काम हुन्छ । हाम्रोमा सामान्य भत्काएको मात्रै छ । तीन नम्बर वडामा त बगाएकै खबर छ ।’