बेलबारीः शनिबार बेलबारीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सर्टको आयोजना लेस्ट इन्टरटेन्टमेन नामक संस्थाले गरेको थियो ।

कार्यक्रममा कवितालाई रङ्गमञ्चीय शैलीमा वाचन गरिएको थियो । कवि पराजुली आफ्ना कवितामा शब्द र विम्बको सफल रूपमा प्रयोग गर्न सिपालु देखिन्छन् ।

यसअघि देश विदेशमा समेत यसरी एकल कविता कन्सर्ट प्रस्तुत गरिसकेका पराजुलीले शनिबारको कार्यक्रममा ‘च्याउ’, ‘मोक्ष’, ‘ह्यापी बर्थडे’ लगायतका आधा दर्जन जति कविता सुनाएका थिए ।

अरु कार्यक्रममा खालीजस्तै देखिने सांस्कृतिक हल शनिबार टिकट काटेर कविता सुन्ने स्रोताले खचाखच भरिएको थियो । यतिसम्म कि मानिस नअटाएर आयोजकलाई बस्ने व्यवस्था गर्न हम्मे परेको थियो ।

उनका कविता सुन्न विद्यालयका विद्यार्थीदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिक पनि उपस्थित थिए ।