खोटाङः नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिंहदरबारको भ्रष्टाचाररूपी रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
हिजो हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई सम्बोधन गर्दै उनले भने, ‘सिंहदरबारको अधिकार होइन भ्रष्टाचारजन्य प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको छ । यसमा जनप्रतिनिधि सचेत हुनुपर्छ ।’
जनप्रतिनिधिको कमजोरीका कारण सङ्घीयता विरोधीलाई सङ्घीयता मास्ने बहाना मिल्न सक्ने उनले बताए । सङ्घीयतालाई स्वीकार गर्न नमान्ने पङ्क्तिका कारण निर्वाचनअघि कानुन नबन्दा स्पष्ट कानुन अभावमा हाल स्थानीय तह सञ्चालनमा कानुनी जटिलता आएको उनले बताए ।
तुवाचुङ जायजुमको अवलोकन
डा. भट्टराईले किरात समुदायको उद्गम थलोका रूपमा रहेको तुवाचुङ जायजुमको अवलोकन पनि गरे । हलेसीको सम्भाव्यताबारे अध्ययन, तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको सुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाटलगायतका कार्यक्रम लिएर उनी खोटाङ आएको बताइएको छ ।