विराटनगरः नेपाल काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले काङ्ग्रेस धनीहरूकै पार्टी रहेको बताएका छन् । मोरङ क्षेत्र नम्बर ३ ले आयोजना गरेको अगुवा तथा निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी भएकोले काङ्ग्रेस धनीहरूको पार्टी भएको बताए ।

कम्युनिष्टहरूले जनतालाई सधैँ गरिब बनाएर भोट बैंकको रूपमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

नेपाली काङ्ग्रेसले तयार पारेको सामाजिक सुरक्षा कार्यक्रम ल्याएर आफैँले कल्पना गरेको जस्तो गरी नाटक गरेको आरोप लगाए । प्रधानमन्त्रीले सामाजिक सुरक्षा कार्यक्रम आफूले ल्याएको भन्नु भनेको बेहुला र बेहुली तयार भइसकेपछि पार्टी प्यालेस मालिकले आफूले बिहे गराइदिएको भनेजस्तै भएको उनको भनाइ छ ।

यो सरकार बाँड्ने काममा मात्र लागेको र सरकारको ढिकुटी बढाउने काममा नलागेको उनको आरोप थियो ।

कम्युनिष्टले अवसरको दुरुपयोग गर्दैछ
‘अहिले नेपालमा कम्युनिष्टले मौका पाएको बेला हो तर त्यो मौकाको दुरुपयोग गर्नु यो सरकारको दुर्भाग्य हो । बिडम्बना नै भन्नुपर्छ, बोल्नुपर्ने प्रतिपक्षी दलका नेता बोल्दैनन् र नबोल्नुपर्ने प्रधानमन्त्री बोलेको बोल्यै गर्छन्,’ उनले भने, ‘तर केपि ओलीको विरुद्धमा बोल्न सोच्नुपर्छ भन्ने कार्यकर्ता नै उनको विरुद्धमा मोर्चाबन्दीमा लागेका छन् । त्यसले पनि बताउँछ प्रधानमन्त्री कुन अवस्थामा हुनुहुन्छ भनेर ।’

 

gaga n sambodhan  (1) gaga n sambodhan  (4)