इटहरीः आज असार पन्ध्र , किसानको लागि मानो छरेर मुरी उब्जाउने महिनाको रुपमा लिइएको असार, आजकै दिन राष्ट्रिय धान दिवस पनि मनाउने गरिएको छ ।

प्रचलन र चल्तिअनुसार आज नेपालमा १९ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउने यो दिवसमा विशेषतः किसानहरुले धान रोप्न सुरु गर्ने गरेका छन् भने कतिले यो दिवसलाई हिलोमा चोबिएर रमाइलो गर्ने दिनको रुपमा समेत लिने गरेका पाइन्छ ।

नेपाल सरकारले औपचारिक रूपमा विक्रम संवत २०६१ असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालेको हो । असार १५ लाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिन्छ । कृषिप्रधान देश भनिएको नेपालमा धान रोप्ने अनि दही चिउरा खाएर असार १५ सामूहिक र उल्लासपूर्ण तरिकाले मनाउने चलन छ ।

कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्दाहरुउपर चिन्तन गर्न धान दिवसको विशेष महत्व रहन्छ । मौसम परिवर्तनका कारण कतिपय समयमा समयमै पानी नपर्दा किसानहरुको बिचल्लीसमेत हुने गरेको छ । धान दिवस सरकारले केही वर्षअघिदेखि मात्र मनाउन थालेपनि असार १५ लाई भने शदियौँदेखि दही चिउरा खाने दिनका रूपमा लिइने गरिएको छ ।

‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिनलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतिपाति हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतिमा व्यस्त हुन्छन् ।

असारे भाका, रमाइलो लोकदोहोरी गीत गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने र रमाउने दिनको रुपमा पनि असार पन्ध्रलाई लिने गरिन्छ । रोपाइँका क्रममा खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन लिनुको मज्जा अलग्गै प्रकारको हुन्छ ।

वर्षायामका कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने भएकैले पनि असार पन्ध्रलाई दही चिउरा खाने दिनको रुपमा लिइएको किम्वदन्तिहरु छन् ।
थाकेको ज्यानमा खाएको यस बेलाको दही चिउराले शरीरमा शीतलता प्रदान गर्ने र शक्ति सञ्चयमा मद्धत गर्ने विश्वास गरिन्छ ।

त्यही भएकाले असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतिपातिबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।