इटहरीः १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडक क्षेत्रका भड्किला होर्डिङ बोर्ड हटाउने भएको छ । सडकको ८२ फिट क्षेत्रमा ठड्याइएका बोर्ड हटाइने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रविकुमार पौडेलले बताए । उनका अनुसार यस्ता होर्डिङ बोर्डले सडक क्षेत्रलाई धेरै असर गरेको छ ।

यात्रुको आँखा बोर्डमा गएर ट्राफिक नियम मिचिने, सवारी दुर्घटना हुने र सडक क्षेत्र साँघुरिने एसपी पौडेलले बताए । सडकको क्षेत्र सडकको हुनुपर्ने बताएका एसपी पौडेलले सडकमा भएका अतिक्रमण हटाइने बताए ।

यस्तै, सवारी चालकलाई अनिवार्य पोशाकको व्यवस्था गर्नेदेखि हर्न निषेधको नियम कार्यान्वयनलाई थप बलियो बनाउने योजना पनि लागू गर्ने एसपी पौडेलले बताए । सवारी चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेपछिको क्षतिपूर्ति बैंकबाट लिने व्यवस्थाको तयारीमा पनि प्रदेश ट्राफिक रहेको एसपी पौडेलले बताए ।