विराटनगरः स्कुले जीवनदेखि कराँतेमा लागेकी राधिका ऐर हमाल अहिले देशभर आत्मरक्षा (सेल्फ डिफेन्स) को तालिम दिँदै हिँड्दैछिन् । देशका विभिन्न ठाउँका साथै विदेशमा पनि बंगलादेशको ढाका अनि भारतका थुप्रै ठाउँमा गएर कराँतेका प्रतियोगिताहरुमा भाग लिएकी हमालको समय अहिले अरुलाई आत्मरक्षा कसरी गर्ने, कसैलै अचानक आक्रमण गर्न खोज्यो भने कसरी प्रतिकार गर्ने भनेर सिकाउँदैमा बित्ने गरेको छ ।

गत हप्ता प्रदेश १ का विभिन्न १४ वटै जिल्लाबाट छनौट भएर आएका महिला सहायक प्रशिक्षकहरुलाई आत्मरक्षाको तालिम दिन आएकी हमाल खेलाडीहरुको आर्थिक पाटो कमजोर भएको स्वीकार गर्छिन् । ‘जो राम्रो परिवारमा हुर्किएका हुन्छन् उनीहरुलाई गाह्रो छैन तर जो केही गरौँ भनेर भुइँ तहबाट अगाडि बढेका हुन्छन्, उनीहरुको आर्थिक पाटो कमजोर छ ।’ राधिकाले सुनाइन् ।

तर पनि खेलमा रुचि हुनेहरुका लागि प्रदेश र संघका खेलकुद विकास बोर्डहरुले अहिले केही प्रोत्साहनका कार्यक्रमहरु ल्याउँदैछन्, जसले खेल क्षेत्रमा लाग्न युवा पुस्तालाई प्रेरणा दिन थालेको छ । समाजमा महिलाहरु पीडित छन् भन्ने कुरा कसैले नकार्न नसक्ने विषय हो । त्यही भएर पनि महिलामाथि बलात्कार तथा अन्य हिंसाजन्य घटनाहरु भइरहेका छन् । त्यस्ता घटनालाई केही मात्र भएपनि कम गर्ने उद्देश्यले महिलाहरुलाई आत्मरक्षाको तालिम दिँदै हिँडेकी राधिका ऐर हमाल एक्ली भने होइनन् । उनीसँग सिङ्गै नेपाल सेल्फ डिफेन्स संघ पनि छ ।

sd3

मार्सल आर्टसभित्र कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरु छन् । त्यहाँभित्र पनि सेल्फ डिफेन्सलाई राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिवको रुपमा केशवकुमार बिष्ट आएपछि मान्यता दिइएको थियो । सेल्फ डिफेन्स आफैमा मार्सल आर्टस होइन । तर मार्सल आर्टस गरेकाहरुले भने सेल्फ डिफेन्सलाई महत्वपूर्ण ठानेका छन् । मार्सल आर्टस सिकेका सबैलाई सेल्फ डिफेन्सको ज्ञान हुँदैन । त्यो मार्सल आर्टस गरेकैहरुको भनाइ हो । नेपाल सेल्फ डिफेन्स संघकी प्राविधिक प्रमुखसमेत रहेकी राधिका महिलाहरुका लागि सञ्चालन गरिएको आत्मरक्षाका तालिमहरु सफल भएको बताउँछिन् ।

आत्मरक्षाको तालिम लिइसकेपछि महिलाहरु आफ्नो सुरक्षा आफैँ गर्न सक्छन् । त्यति मात्र नभएर कोही पुरुषले गलत नियतले छुन खोज्यो भने नडराई त्यसको प्रतिकार गर्न सक्ने हिसाबमा महिलालाई सेल्फ डिफेन्स अर्थात आत्मरक्षाको तालिमले ज्ञान दिने र केही मात्र भएपनि महिला हिंसाका घटनालाई रोक्न सकिने राधिकाको विश्वास छ । सञ्जु महर्जन २०५२ सालदेखि कराँतेमा लागेकी महिला प्रशिक्षक हुन् । युरोपेली राष्ट्रलगायत थुप्रै देशमा कराँते खेलकै सिलसिलामा पुगिसकेकी सञ्जु कराँतेकी पाँचौँ डान हुन् । स्पोर्टसलाई नै जीवन बनाएर हिँडेकी सञ्जुले मुख्य प्रशिक्षकको रुपमा थुप्रै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम दिएकी छन् ।

कुनै बेला आफूले तालिम दिएको दोस्रो दिनमै एक किशोरीले आफूमाथि बलात्कार आएका व्यक्तिमाथि प्रतिकार गरेर दुर्घटना रोकेपछि झनै सिकाउने जोस र आत्मविश्वास बढेको बताउने सञ्जुले हालसम्म हजारौँलाई आत्मरक्षा सिकाइसकेकी छन् । स्पोर्टसमा सेल्फ डिफेन्स अर्थात् आत्मरक्षा एकदमै राम्रो भएको बताउने सञ्जु मार्सल आर्टस जित्नका लागि खेलिने खेल भएपनि सेल्फ डिफेन्स भने आत्मरक्षा र हिंसालाई रोक्नका लागि आवश्यक भएको भनाइ राख्छिन् । आफ्नो सुरक्षा कसरी आफैँ गर्न सकिन्छ ? केही पर्यो भने कसरी आफूलाई जोगाउने भन्नेजस्ता सीपहरु सेल्फ डिफेन्सभित्र पर्ने सञ्जुले हामीलाई बताइन् ।

विश्वका कतिपय देशमा अनिवार्य गरिएको सेल्फ डिफेन्स नेपालमा भने भर्खरै मात्र सिकाउन थालिएको हो । नेपाल सेल्फ डिफेन्स संघले अहिले भने आत्मरक्षा सिकाउँदै मेची महाकाली अभियान चलाएको छ । नेपालका ३३ वटा जिल्लामा शाखा सञ्चालन गरेको यस संघले हालसम्म ६० हजारभन्दा बढीलाई आत्मरक्षाको तालिम दिइसकेको संघका अध्यक्ष डीबी रानापाल बताउँछन् । आत्मरक्षाको तालिममा योगदान गरेबापत नेपाल सेल्फ डिफेन्स संघकी नेपाल शाखा प्रबन्धकसमेत रहेकी सञ्जुले राष्ट्रपतिबाट सम्मानसमेत पाएकी छन् ।

sd2

महिलाहरुलाई कसैले सार्वजनिक यातायातमा अवथा सार्वजनिक ठाउँ र अन्य स्थानमा समेत गलत नियतले छुन खोज्यो अथवा छोयो भने कसरी प्रतिकार गर्ने, घरेलु हिंसामा परेका महिलाले श्रीमानले कपालमा समातेर भुत्ल्याउँदा कुन तरिकाले त्यसको प्रतिकार गर्नेजस्ता कुराहरु प्रशिक्षार्थीहरुलाई सिकाउँदै सञ्जुले ७ बर्ष बिताइसकेकी छन् । अर्थात् नेपाल सेल्फ डिफेन्स संघ नेपालमा स्थापना भएको ७ वर्ष पुगेको छ । ७ वर्ष पहिले सञ्जु महर्जन, ओञ्चु लामालगायत बसेर केही गरौँ भनेर छलफल गर्ने क्रममा सेल्फ डिफेन्स तालिम सञ्चालन गरौँ भन्ने भएपनि नेपाल राज्यभर काम गर्न सकिन्छ भनेर महिला लक्षित सेल्फ डिफेन्स तालिमका कार्यक्रम सुरु गरिएको नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापालले बताए ।

कुनै पनि घटना भइसकेपछि कानूनी रुपमा पछि जाँदै गरौँला तर पहिला प्रतिकार त गर्नुपर्यो नि भन्ने हिसावले आत्मरक्षाका तालिमहरु सञ्चालन गर्ने गरेको रानापालले सुनाए ।
राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति महिला अभिवृद्धि कार्यक्रममार्फत् देशैभर सेल्फ डिफेन्स तालिम सञ्चालन गर्न लागेको र त्यसमा नेपाल सेल्फ डिफेन्स संघले नै सहजीकरण गर्ने अध्यक्ष रानापालको भनाइ थियो । संघसँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त ३२ जना प्रशिक्षकहरु रहेको र सबै प्रशिक्षकहरु मार्सल आर्टस र मनोविज्ञान (साइकोलोजी) मा तालिमप्राप्त रहेको पनि रानापाल बताउँछन् । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ को निमन्त्रणामा विराटनगरमा आएका उनीहरुले प्रदेश १ का १४ जिल्लाबाट आएका ४७ जनालाई ३ तीन दिने तालिम दिएका थिए । आफूहरु आत्मरक्षाको तालिममा मेची महाकाली अभियानअन्तर्गत देशका सबै ठाउँमा पुग्ने संघको भनाइ छ ।