इनरुवा / सुनसरीको दक्षिणी भागमा अत्याधिक नगदेबाली उत्पादन हुने गरेको छ । जसअन्तर्गत जिल्लाको सदरमुकाम इनरुवा एक त्यस्तो स्थान हो जहाँ तरिकारीजन्य उत्पादनको उल्लेख सम्भावना छ र उत्पादन पनि भइरहेको छ । यहाँ खासगरी उखु, तरुल, केरा लगायतका मौसमी बालीहरू लगाउने गरिएको छ । अधिकांश यहाँका किसानहरूको जीविका खेतिपाति र उत्पादित वस्तुहरूको व्यापारबाट चल्ने गरेको छ ।
इनरुवामा मधेसी समुदायको उल्लेख्य संख्या नगदेबालीको उत्पादन र व्यापारमा संलग्न छ । त्यसैका एक उदाहरण हुन्, दिनेशकुमार मेहता । दिनेशको उमेरले तीन दशक पार गरिसक्यो । उनी विदेशी भूमिमा जान नचाहेका पनि होइनन् । उनी भन्छन्, ‘धेरै पटक प्रोसेस गर्दा पनि मिलेन, त्यसैले गाउँघरमै केही गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ केहि समय अगाडिको दिनेशको बाध्यता अहिले भने रहरको विषय बनेको छ ।
दिनेशले १० कठा जग्गामा तरूल खेति गरेका छन् । हुन त दिनेशले अन्य थुप्रैखाले मौसमीे तरकारीहरूको समेत उत्पादन र व्यापार गर्ने गर्दछन् । यद्यपि, तरूल खेतिमा अलि बढी झुकाव भएको उनी बताउँछन् । कारण हो, यसबाट हुने आम्दानी अरूबाट हुने आम्दानीको तुलनामा ज्यादा छ । उनको घरपरिवार तरूलबाटै चलेको छ भन्दा फरक नपर्ने उनको दाबी छ ।
उनले तरूलको खेति गर्न थालेको २ वर्ष बित्यो । सुरूको वर्ष उनले १ लाख बढीको तरूल बिक्री गरे । उनी भन्छन्, ’ठ्याक्कै यति भन्नेचाहिँ हिसाब राखिँदैन तर १ लाखभन्दा धेरैको बिक्री भयो ।’ तरूल खेति गर्न पनि सहज भएको उनको अनुभव छ । उनी माघदेखि वैशाखसम्म तरुल रोपिसक्नुपर्ने बताउँछन् । उनले खेतिको लागि प्रत्येक ड्याङमा बाँसबाट चाङ निर्माण गरेका छन् । बेलाबेलामा झारहरू गोडमेल गर्नुपर्ने र रासायनिक मल लगाउनुपर्ने उनको अनुभव छ ।
एउटा बिरुवाबाट बढीमा ५ केजीसम्म तरूल फल्दछ । बीउको लागि भने प्रत्येक वर्ष सोही बिरुवाबाट उत्पादन हुने जिलीलाई प्रयोग गर्न सकिन्छ । खासगरी पौष महिना सुरू भएपछि माघे संक्रान्तिको लागि तरूलको माग हुने गर्दछ ।तरकारी र उसिनेर तरुलको प्रयोग गर्ने चलन रहेको छ भने माघे संक्रान्तिलाई अनिवार्य तरुल खानुपर्ने पर्वको रूपमा मानिँदै आएको छ । यसैले पनि दिनेशलाई भने बजारको समस्या नहुने गरेको छ । दिनेश भन्छन्, ‘हामीलाई काठमाडौँबाटै अर्डर आउँछ, एकैपटक १ क्लिन्टल पठाइदिन्छौँ ।’ सरल र सहज उत्पादन प्रक्रिया भएको तरूलखेतिलाई अझ बढाएर लैजाने दिनेशको तयारी छ । ‘सुरूको वर्ष १० हजार लगानी गर्नुभयो भने २० हजार आम्दानी हुन्छ, त्यसपछि ५ हजारको लगानीमै २० हजार आम्दानी हुन्छ ।’ उनले भने ।