इटहरीः रामधुनी नगरपालिकामा रहेको नमुना नगर बाल सञ्जालले नगरभरिका ५ हजार बालबालिकालाई बालअधिकार र बाल सचेतनाको तालिम प्रदान गर्दै हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गरिरहेको छ ।
असार १८ गतेबाट ५ हजार बालबालिकालाई बालअधिकार, बालमैत्री शासन र बालविवाहका बारेमा सचेतना जगाउँदै हिडेको नमुना नगर बाल सञ्जालले सोमबार सम्म दुई हजार पाँच सय बालबालिकालाई सहभागी गराई सचेतना कार्यक्रम सञ्चालन गरिसकेको बताएको छ । आफूहरुले हरेक सँस्थागत तथा सामुदायिक विद्यालयमा गएर विद्यालयसँगको संयोजनमा ४० देखि ४५ मिनेट सम्मको कार्यक्रम गर्ने गरेको नमुना नगर बाल सञ्जालका अध्यक्ष धिरज कार्कीले बताए ।
नमुना नगर बाल सञ्जालमा ५ जनाको समुह बाँडिएर नगरमा रहेको विभिन्न विद्यालयहरुमा जाने र विद्यालयकै संयोजनमा बालबालिकलाई भेला गरेर बालमैत्री नगरको रुपमा घोषणा भइसकेको रामधुनीमा बालबालिकाका हकअधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी सचेतना जगाइने गरेको कार्कीले प्रदेश पोर्टलसँग बताए ।
एक जना नगर बाल सञ्जालको प्रतिनिधि जाने र बाँकी जहाँ जाने हो, सोही वडाको बाल सञ्जालका पदाधिकारीहरुको सहयोगमा सचेतना कार्यक्रम अघि बढाइएको नगर बाल सञ्जालका सदस्य एवं वडा नम्बर ७ को बाल सञ्जालका अध्यक्ष निरज बस्नेतको भनाइ थियो ।
अघिल्लो साल मात्र बालमैत्री स्थानीय तहको रुपमा घोषणा भएको रामधुनी नगरपालिकाका सबै बालबालिकालाई बालअधिकारका साथै समाजमा जकडिएको बाल विवाहको बारेमा सचेतना फैलाउने उद्देश्यले ५ हजार बालबालिकासम्म पुग्नेगरी महत्वकांक्षी योजना लिएर अघि बढेको बालमैत्री सरकार रामधुनीका सम्पर्क व्यक्ति अमन ढुङ्गेलले प्रदेश पोर्टललाई बताए ।