धरान: धरान उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको भगवति आधारभूत विद्यालयमा वर्षामा पानी चुहिएर कक्षाकोठामा आहालजस्तै पानी जम्ने र विद्यार्थीको बेहाल हुने गरेको पाइएको छ । 

धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ग र उपमेयर अइन्द्रविक्रम बेघा मंगलबार बिहान विद्यालयको निरीक्षणको क्रममा जाँदा विद्यालयको अवस्था प्रधानाध्यापक अच्युत पराजुलीले गुनासो गरेभन्दा फरक थिएन । सोमबार उपमहानगरमा भएको सार्वजनिक सुनुवाइमा भगवति आधारभुत विद्यालयका प्रद्यानाध्यापक अच्युत पराजुलीले विद्यालयको अवस्था दयनीय भएको भन्दै गुनासो  पोखेका थिए । उपमहानगरले सहयोग नगर्दा विद्यालयको अवस्था लथालिङ्ग भएको भन्दै एक पटक निरीक्षण गर्न आइदिन पराजुलीले आग्रह गरेका थिए ।

निरीक्षणको क्रममा टिनको छानाबाट बनेको विद्यालयको परिसरमा करिब पाँच कट्ठा क्षेत्रफलमा रहेको खेल मैदानमा स्थानीयले फोहोर फाल्ने गरेको र गौचरणमा परिणत भएको पाइएको थियो । विद्यालयको  फिल्डमा रहेको माटो पनि खोल्सीले तान्दै लगेको, दुई अढाई कट्टा जग्गा खोल्सीमा परिणत भएको पाइएको थियो भने विद्यालय लागूऔषध सेवन गर्ने अखडाको रुपमा परिणत भएको पाइएको थियो । लागूऔषध प्रयोगकर्ताहरु आएर दुःख दिने गरेपछि विद्यालयले एक पटक त प्रहरीलाई खबर गरेर एक झोला सुई, टयाब्लेटलगायतका सामग्री भेटेर प्रहरीलाई बुझाएको पनि प्रद्यानाध्यापक पराजुलीले बताएका थिए ।

विद्यालयले धरान उपमहानगरपालिकाबाट अहिलेसम्म एक पैसा पनि सहयोग नपाएको प्रअको गुनासो थियो । सहयोग पाए खेल मैदान व्यवस्थित बनाउने र स्कुललाई नमूना बनाउन लागिपर्ने उनको भनाइ थियो । अनुगमन पछि मेयर हर्क साम्पाङले विद्यालयको सीमामा पर्खाल लगाइने र पानी चुहिने समस्याको समाधानका लागि मर्मतसम्भारमा ध्यान दिइने बताएका छन्  । भगवतिको खेलमैदानलाई  ‘स्पोटस एकेडेमी’ को रुपमा विकास गर्ने नगरप्रमुखको भनाइ थियो ।