इटहरीः मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको क्याम्पस एकाई समितिको निर्वाचन सम्पन्न भएको छ ।
हिजो सम्पन्न निर्वाचनबाट ११ सदस्यीय एकाई समिति निर्वाचित भएको निर्वाचन समितिका सदस्य अर्जुनकुमाार कार्णले जानकारी दिए । उनका अनुसार समितिको सभापतिमा नेपाली कांग्रेसनिकट डा.प्रमोदकुमार खेरवार निर्वाचित भएका छन् । उपसभापतिमा पनि कांग्रेसनिकट उम्मेदवार वीरेन्द्रकुमार झा विजयी भएका छन् । यसैगरी, सचिवमा पनि नेपाली कांग्रेसनिकट उम्मेदवारले नै विजय प्राप्त गरेको छ ।
शिवचन्द्र चौधरीले सचिव पदमा विजय प्राप्त गरेका हुन् । समितिका सहसचिव भने नेकपा माओवादी केन्द्रले हात पारेको छ । केन्द्रका उम्मेदवार सूर्यनारायण यादव सहसचिव बन्न सफल भएका हुन् । यता, कोषाध्यक्षमा भने नेकपा एमालेनिकट उम्मेदवार डा.सुजितकुमार शाह विजयी भएको निर्वाचन समितिले जनाएको छ । समितिको कार्यकाल तीन वर्षको हुनेछ ।