धरानः धरान १७ स्थित फोल्याण्डको दीपेन्द्र स्मृति प्राथमिक विद्यालयका विद्याथीहरूलाई उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामग्री प्रदान गरेको छ ।
गत बुधबार केन्द्रले विद्यालयका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माले जानकारी दिइन् । उनका अनुसार कक्षा ४ र ५ का ३० जनालाई प्रतिविद्यार्थी ६ वटा कापी र डटपेन वितरण गरेको हो । केन्द्रका सल्लाहकार लालबहादुर विश्वकर्माले विद्यालयमा जेहेन्दार, अनुशासित र आर्थिक रुपमा विपन्न विद्यार्थीलाई अध्ययन गर्न केही राहत मिलोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताए ।
उनका अनुसार ५ जना विद्याथीलाई अङ्ग्रेजी ग्रामरको किताब प्रदान गरिएको हो । उनले विद्यालयमा अङ्गे्रजी माध्यममा पढाइ हुने भएकाले अध्ययन गर्न थप सहज होस् भनेर ग्रामर प्रदान गरेको बताए । उनका अनुसार विद्यार्थी छनौट विद्यालयले नै गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रममा १ नं. प्रदेशका सांसद उमिता विशवकर्माले समुदाय स्तरबाट सञ्चालित विद्यालय उत्कृष्ट भएको बताइन् । उनले विद्यालय शैक्षिक भौतिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थान समितिकी अध्यक्ष मीना लावतीले विद्यालयमा सरकारको नजर नपरेको बताइन् । उनले विद्यालयको शैक्षिक, भौतिक विकासका ध्यानाकर्षण गराए पनि सहयोग नपाएको बताइन् ।
विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलले विद्यालयमा १ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । उनका अनुसार अहिले विद्यालयमा स्थायी दरबन्दी एउटा पनि छैन । विद्यालयमा ३ वटा दरबन्दीका लागि सरकारले अनुदान दिने गरेको उनको भनाइ छ । विद्यालयमा निजी विद्यालयमा जत्तिकै गुणस्तरीय शिक्षाका लागि नर्सरीदेखि कक्षा १ सम्म ४ वटा कक्षा सञ्चालनका लागि शिक्षकको अभाव रहेको उनले सुनाए ।
उनले भने, ‘निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रयास गर्दैछौँ । तर राज्यले बन्द गर भन्छ ।’ उनले बाल कक्षादेखि मात्र अध्यापन गर्नुपर्ने नीतिले निजीसँग प्रतिपस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन नगर भनेको बताए । उनले भने, ‘शिक्षा नीति पनि निजीलाई प्रोत्साहन गर्र्ने किसिमको भयो ।’ शैक्षिक सामग्री वितरण कार्यक्रममा केन्द्रकी उपाध्यक्ष सावित्रा परियार, सँस्थाका सदस्य ज्ञानबहादुर लामिछाने, प्रमेश विश्वकर्मा, एलिन विश्वकर्मा र सँस्थाका संरक्षक शुभद्रा विश्वकर्माको उपस्थिति रहेको कोषाध्यक्ष शिवराम विश्वकर्माले जानकारी दिए ।