इटहरी/ ४२ वर्ष पुरानो र भूकम्पले जीर्ण इटहरीको इलाका प्रहरी कार्यालयको नयाँ भवन नहुँदा प्रहरीलाई समस्या भएको छ ।

इटहरीजस्तो पूर्वको हब नगरीको रूपमा रहेको प्रहरी कार्यालय साँघुरो भवनमा रहेको छ । इलाका प्रहरी कार्यालय साढे एक कठ्ठा क्षेत्रमा साँघुरिएर बसेको छ । आफ्नो जग्गा क्षेत्र थोरै भएपछि उपमहानगरपालिकाको सांस्कृतिक भवनको भुइँ तला प्रयोग प्रहरीले प्रयोग गरिरहेको छ । तर, उक्त भवन पनि आगामी माघबाट छाड्नुपर्ने भएकाले इलाका प्रहरी कार्यालय इटहरी तनावमा छ ।

लक्जमबर्ग सरकारको सहयोगमा बनेको सांस्कृतिक भवन खाली गर्न उपमहानगरले पत्रै लेखेर ताकेता गरिरहेको छ । यसरी एकातर्फ आफ्नै भवन नहुनु र उपमहानगरको भवनमा पनि बस्न समस्या भएपछि इटहरी प्रहरीलाई थप समस्या देखिएको छ ।

बजार छेउको ५५ कठ्ठा जग्गामा भवन बनाउने कुरा अलपत्र
आवश्यक भवन र अत्यावश्यक खुला क्षेत्र नभएर बिजोग भएको इटहरी प्रहरीको नयाँ भवन बनाउन केही वर्ष अगाडि जग्गा खोजीको प्रयास भएको थियो । इटहरीको जुटविकास केन्द्रको जग्गामा भवन बनाउन खोजिए पनि कृषि मन्त्रालयले अस्वीकृत गरेपछि प्रहरी भवन बन्नै सकेको छैन । जुट विकासको क्षेत्रमा प्रहरी भवन बनाउनु अगाडि जग्गा किनेर बनाउने कुरा चले पनि अत्यधिक महँगोमा जग्गा किन्न खोजिएको भन्दै सर्वत्र विरोध भएपछि स्थगित भएको थियो ।

यसरी निजी जग्गा किन्ने अनि जुट विकासको जग्गामा प्रहरी भवन बनाउने कुरा त्यत्तिकै हरायो । यसको विकल्पमा इटहरी बजारबाट साढे २ किलोमिटर दक्षिण विराटनगरलाइमा राजमार्ग छेवैमा रहेको ५५ कठ्ठा सार्वजनिक जग्गामा प्रहरी भवन बनाउन सकिने तर्क केही महिना अगाडि चलेको पनि थियो । उक्त स्थलमा इटहरीका तत्कालीन डिएसपी सञ्जय राउत, जिल्ला प्रहरीका उपप्रमुख र स्थानीय नागरिक अगुवाले अवलोकन गर्दै प्रहरी भवन बन्नयोग्य जग्गा भएको बताएका थिए ।

केही महिना अघि पूर्वी बजार दैनिकले साविक खनार ४ क मा ६५ कित्ताको ५५ कठ्ठा सार्वजनिक जग्गा फिल्डबुक सहित सार्वजनिक गरेको थियो । सो ५५ कठ्ठा जग्गमा प्रहरी भवन, सार्वजनिक पार्क, पत्रकार महासंघ भवन, नाट्यगृह आदि संरचना बनाउन सकिने चर्चा चलेको थियो ।

तत्कालीन माओवादी केन्द्र तथा हालको नेकपाका प्रभावशाली नेता सागर सुवेदी, कांग्रेस नेता तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य रोहित प्रसाईं, उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टलगायतले पनि इटहरीको वर्षाैंदेखि अलपत्र रहेको प्रहरी भवन बनाउन भेटिएको पायक जग्गाको केहि भाग प्रयोग गर्न सकिने पूर्बी बजारसँग बताएका थिए ।

प्रदेश एकका तत्कालीन एआइजी पशुपति उपाध्याय समेतले चासो राखेको उक्त जग्गामा आधुनिक र व्यवस्थित प्रहरी भवन बनाउँदा सो क्षेत्रको राजमार्ग र उद्योग क्षेत्रमा समेत सुरक्षा पुग्ने स्थानीयले बताउँदै आएका छन् ।