इटहरीः मोरङको विराटनगर महानगरपालिका ८ स्थित मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएको छ ।
कारागारमा रहेका कैदीबन्दीमा ज्वरो देखिएपछि १८ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार अस्पताल भर्ना भएका १९ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १८ जनाको आज एन्टिजेन परीक्षण गर्दा १६ जना संक्रमित देखिएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.युवराज खरेलले जानकारी दिए । एन्टिजेन परीक्षण गरिएका सबै बिरामीको पीसीआर परीक्षणको प्रकृया सुरु गरिसकिएको उनको भनाइ छ । एन्टिजेन पोजेटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पताल रेफर गरिने उनले बताए ।
मृत्यु हुनेमा ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ घर भएका कैदी ३९ वर्षीय नीरबहादुर नेपाल रहेको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । कारागारमा अहिले एक हजार ८७ जना कैदी बन्दी छन् । क्षमता भने महिला र पुरुष गरेर तीन सय जनाको मात्रै छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्वरो आएका कैदी बन्दीलाई तत्काल उपचारका लागि अस्पताल पठाउन कारागार प्रशासनलाई निर्देशन दिइसकेका छन् ।