काठमाडौः नेकपा(एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले छ दिनदेखि आमरण अनशनरत  अनेरास्ववियू,का नेताहरुसँग  भेटघाट गरी स्वास्थ्य स्थितिको जानकारी लिएका छन् । 

भेटघाटमा अनेरास्ववियूका नेताहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै विद्यार्थी नेताहरुले उठान गरेका जायज मागहरु सम्बोधन गर्न त्रिवि प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरे । 

आइतबार बिहान विभाग प्रमुख  खतिवडा सचिव प्रकाश खतिवडा र विभागका सदस्य लेखनाथ शिकारुले अनशनरत अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई भेटघाट गरे ।  

त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूका नेताहरु ६ दिनदेखि आमरण अनशनमा छन् । विश्वविद्यालयको विकृति विसंगति अन्त्यको माग राख्दै अनशन सुरु गरिएको अध्यक्ष सुदेश पराजुलीले बताए । अनसरत विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।

अनशनरत अध्यक्ष पराजुली र उपाध्यक्ष माधव पन्तको स्वास्थ्यमा समस्या देखिएपछि  बिहीबार त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भर्ना गरि उपचार गरिएको थियो । अनेरास्ववियुले एमफिलरपीएचडीलाई नियमित कार्यक्रमका रूपमा लागू गर्नुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समय अनुकूल परिमार्जन गर्नुपर्नेलगायत माग अघि सारेको छ ।

यस अघि अनशनरत विद्यार्थी नेताहरुलाई नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेता मेटमणी चौधरीसहितसहित नेताहरुले अस्पतालमै पुगेर भेटघाट गर्नुका साथै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै  आन्दोलन प्रति ऐक्यवद्धता जनाएका थिए ।  आन्दोलनप्रति  स्थानीय तह स्वास्थ्यकर्मी सञ्जाल नेपाल, अनेरास्ववियू पोखराका पूर्वअध्यक्ष तुलबहादुर गुरुङलगायतले ऐक्यबद्धता जनाएका छन् ।