काठमाडौँः आमरण अनसनरतमा रहेका अनेरास्ववियुका नेताहरुको आन्दोलनप्रति अन्य विद्यार्थी संगठनहरहले पनि ऐक्यबद्धता जनाएका छन् । विभिन्न माग राख्दै त्रिवि उपकुलपति कार्यालयअघि ६ दिनदेखि अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त  आमरण अनसनमा रहेका छन् । 

आइतबार संयुक्त विज्ञप्ति निकाल्दै नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन लगायतका ७ विद्यार्थी संगठनहरुले ऐक्यबद्धता जनाएका हुन् । ‘अनसनप्रति संयुक्त विद्यार्थी आन्दोलनको पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै अनसनरत विद्यार्थी नेता साथीहरूको जीवन रक्षाको माग गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी संगठनले नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय लामो समयदेखि विभिन्न राजनीतिक दलहरूको भागबण्डा, शैक्षिक बेथिति र स्वार्थ समुहको कोपभाजनमा परेको उल्लेख  छ ।

यसलाई विश्वविद्यालय प्रशासनले समस्या समाधान गर्नुभन्दा बेथितिलाई सँस्थागत गर्नमै उद्धत रहेको, विश्वविद्यालयको जिम्मेवारी लिएका उपकुलपति लगायतका पदाधिकारी विश्वविद्यालय र विद्यार्थीहरुका समस्याप्रति उदासिन र लाचार हुनुले विश्वविद्यालयको सम्पूर्ण साख र गरिमामाथि नै प्रश्न उठाएकोले अनसनप्रति संयुक्त विद्यार्थी आन्दोलनले पूर्ण ऐक्यबद्धता जनाएको उल्लेख  छ ।

प्रश्नपत्र दोहरिएको विषयमा छानबिन कमिटी गठन गरी सत्यतथ्य बाहिर ल्याउन र विश्वविद्यालयका साझा मुद्दालाई त्रिवि प्रशासनले सरोकारवाला सबै पक्षसँग छलफल गरी उचित निकास निकाल्न विद्यार्थी संगठनहरुले अनुरोध गरेका छन् । अन्यथा संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जान बाध्य हुने चेतनावनी दिइएको छ ।

अनसनरत युवा नेताहरुको स्वास्थ्यमा खेलबाड नगर्न नेपाल सरकारलाई विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् । बारम्बार प्रश्नपत्र दोहोरिरहेकोले छानबिन गरी संलग्नलाई कडा कारबाही गर्नुपर्ने लगायतका १३ बुँदे माग राख्दै उनीहरु असार २८ गतेदेखि उपकुलपति कार्यालयअगाडि आमरण अनसन बसिरहेका छन् ।

vigyapti1