इटहरीः शनिबार इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै वडाध्यक्षलाई प्रहरी थाना पुर्याएको विषयले चर्चा पायो । ठेकेदार बनेर गाउँको खोला तथा छिमेकीको जमिन मिचेर इँटा भट्टालाई माटो दिने काम गरिरहेका इटहरीको वडा नम्बर १५ का अध्यक्ष श्रवणकुमार चौधरीलाई प्रहरी कार्यालय पुर्याइएको हो ।

srawan kumar chaudhary

मेयरले ६ महिना अघि सचेत गराउँदा पनि जबरजस्ती माटो काट्ने काम वडाध्यक्ष चौधरीले गरेको बताइएको छ । स्थलगत रूपमा हेर्दा जमिनको सतहभन्दा २० मिटर गहिराइमा पुगेर पनि माटो निकाल्ने काम रोकिएको देखिँदैन । ‘माटो सकिएर बालुवा आउँदासमेत निकाल्न रोकिएको थिएन ।’ मेयर चौधरीले प्रदेश पोर्टललाई भने, ‘यो त अति भएपछि पक्राउ गर्ने मञ्जुरीनामा लिएरै प्रहरी कार्यालय पठाइएको थियो ।’

यस विषयमा केही वडाध्यक्षसहितको छलफलले विवादलाई नगरपालिकामै मिलाउने बारे सहमति भएको थियो । शनिबार इटहरी उपमहानगरपालिकामा भएको छलफलमा इटहरी– १५ का वडाध्यक्षले माफी मागेका हुन् ।

IMG_7382 - Copy

ठेकेदारी काम गर्दै गाउँको जमिन जोखिममा राख्ने वडाध्यक्षले मेयरसँग माफी मागेपछि उनलाई माटो काटिएको जमिन पुर्न भनिएको छ । मेयर चौधरीले दिएको जानकारीअनुसार वडाध्यक्ष चौधरीलाई इटहरी– २० को झोरापट्टास्थित माटिया खोलाको किनार र त्यसको नजिक रहेको जमिन पुर्न भनिएको छ ।

वडाध्यक्षले स्थानीय इँटा भट्टालाई माटो आपूर्ति गर्ने ठेकेदारी पाएका छन् । उनले गाउँका स्थानीयको खेत माटोका लागि किने पनि स्काभेटर प्रयोग गरी जथाभावी माटो निकाल्दा छिमेकका खेत पहिरोमा परिणत भएका थिए ।

स्थानीयले गुण्डागर्दीको भरमा माटो निकाल्ने काम गरेका वडाध्यक्षसहित केही युवाले गाउँलाई त्रसित बनाएको भनी मेयरलाई गुनासो गरेको बताइएको थियो । सोही क्रममा निरीक्षण गर्न जाँदा मेयरले वडाध्यक्षलाई नियन्त्रणमा लिएका थिए ।