एमजी गुरागाईँ (महेन्द्र)

उद्योग वाणिज्य संघ इटहरी सुनसरी, नेपालको उद्योग वाणिज्य संघ छाता संगठनको कान्छो संगठनको रुपमा चिरपरिचित नाम हो । यस संघको आउँदै गरेको निर्वाचन आउँदो भदौ सम्ममा हुने जानकारी इटहरीका व्यवसायीहरुलाई भइसकेको अवगत गराउन चाहन्छु । निर्वाचनमा उम्मेदवारी दिनका लागि तँछाडमछाडमा भित्री रुपमा धेरै व्यवसायीहरु लागिपरेका छन् । उद्योग वाणिज्य सघको तीन वर्षे कार्यकाल असारमा नै सकिएको हो । यही असारमा निर्वाचन गर्नुपर्नेमा विविध कारण देखाई तीन महिनाको लागि समयावधि थप गरिएको व्यहोरा जानकारी भएको छ । त्यसैका लागि मतदाताहरुको नवीकरण असार मसान्त सम्ममा गरिसक्नुपर्ने भनिएकोमा कुन समूहले कति मतदाताहरु संकलन गरेर नवीकरण गरिसकिएको अवस्था छर्लङ्ग छ भने करिबकरिब अध्यक्ष तथा अन्य उमेदवारहरु पनि छनौट हुने प्रक्रियामै छन् । 

आउने उम्मेदवारहरुको टाउकोमा मतदाताहरु नवीकरणको भार परिसकेको स्थिति दोहेरिरहेको अवस्थामा एउटा उम्मेदवारले करिबकरिब रामै्र रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । उद्योग वाणिज्य संघको अध्यक्ष हुनका लागि आफ्नो जायजेथाबाट लाखौँ खर्च गरेर अध्यक्ष किन चयन हुनुपर्ने हो ? हामीले नबुझेको कुरा । आखिरमा क्षमता भएका व्यवसायीहरुको त कुनै अर्थ भएनजस्तो लाग्न थालेको छ । व्यावसायीहरु मध्येबाट इच्छुक व्यक्ति जो आर्थिक रुपमा सम्पन्न छैन भने उसले उद्योग वाणिज्य संघको कुनै पनि उम्मेदवारी दिनबाट बञ्चित  कहिलेसम्म हुनुपर्ने ? अनि यी र यस्ता किसिमका विकृतिहरुको सामाना हामी व्यवसायीले  कहिलेसम्म गर्नुपर्ने हो ? अत्याधिक रुपमा खर्च गर्न सक्ने, दुईचार दिन झलाकझिलिक भएर होटलमा टन्न खर्च गरेर उम्मेदवारी दिई निर्वाचन जित्नुपर्ने कस्तो बाध्यता ? जसले जित्छ उसैको हाईहाई हुने यो कस्तो परम्पराको विकास भइरहेको छ  हाम्रो इटहरीमा ?

 यसरी र यस्ता किसिमका परम्परा बसाल्ने हो भने भोलि उद्योग वाणिज्य संघमा निर्वाचनमा मान्छे खोजी गर्नुपर्ने समय आउने प्रष्ट देखिन्छ । दुःखमा परेका कोभिडले थला परेका अनि आर्थिक अभाव भएका व्यवसायीका व्यवसाय खस्कदँै छन् । व्यवसायीहरुको पीरमर्काहरुको सम्बोधन कसरी हुन्छ ? विगतमा दुई वर्ष व्यवसाय बन्द गरेर पनि घरबहाल तिर्नुपर्ने बाध्यता धेरै व्यापारीहरुको साझा समस्या थियो । त्यस विषयमा उद्योग वाणिज्य संघको पहल हुनुपर्ने होइन र ? तर खोई यस विषयमा उद्योग वाणिज्य संघको कार्यसमितिले कुनै पहल गरेको देखिएन ।

 व्यवसायीहरुको छाता संगठनले आफ्नो क्रियाकलापहरु गर्नुपर्दा हरेक व्यापारीहरुको समस्या सुन्नुपर्ने होइन र ? जहाँ व्यापारी तथा व्यवसायहरु समस्यामा पर्दछन्, त्यहाँ उद्योग वाणिज्य संघको उपस्थिति हुनु जरुरी होइन र ? तर यहाँ त ठीक उल्टो भएको महसुस हुन्छ । जसरी हुन्छ, दाम, साम दण्ड र भेदको रणनीति प्रयोग गरेर उद्योग वाणिज्य संघको निर्वाचन जित्ने अनि राजनीतिको थलो बनाएर विभिन्न पार्टीमा समाहित भएर आफ्नो र आफन्तहरुको भविष्य सुरक्षित र  संरक्षित कसरी गर्ने भन्ने कुराको विकास भएको जस्तो लाग्छ । कसरी  हुन्छ प्रदेश अनि केन्द्रमा जाने बाटोको खोजी गरिन्छ । बिचरा निमुखा, आर्थिक भारले थिचिएर चुर्लम्म भएका व्यवसायीहरु घरबहाल वालाको थिचोमिचो, बैंकको ब्याजदरजस्ता अनेकौँ समस्या झेलेरै बस्ने गरेका छन् । उनीहरुको  समस्या कसले सुन्ने, कसले समाधान गर्ने ? राजश्वले  दिन प्रतिदिन हाम्रा पसलमा छापा मार्न छोडेको छैन, दुःख दिइरहेको अवस्था छ । यस विषयमा छलफल गरिनुपर्ने, निर्वाचनको समयमा त आफ्नो घोषणापत्रमा यस्ता विषयहरु समावेश गरिएको जस्तो लाग्दथ्यो । निर्वाचनका बेला मात्र बोक्रे बकबास कुराहरुलाई, लिएर हिँडेका थिए कि के हो ? व्यवसायीहरुलाई एक दिन खाजामा मख्क पारेर हुन्छ ? यस विषयमा उद्योग वाणिज्य संघमा निर्वाचित कार्यसमितिले समाधानको उपाय खोज्नुपर्ने होइन र ? 

घर बहालको समस्या विगतमा पनि उठाइएको कुरा हो । खोई त्यस विषयमा खोजी गरेको ? यस्ता धेरैभन्दा धेरै समस्याहरु छन् । त्यस बिषयमा गम्भिर बन्नुपर्ने, व्यवसायीहरुको हरेक विषयको खोजी गरी त्यसलाई सम्बोधन गर्नुपर्ने काम यस छाता संगठनको होइन र ? होइन भने हामीले प्रत्येक वर्ष सदस्यता नवीकरण केका लागि गर्नुपर्ने ? कि प्रत्येक साधारणसभामा एक दिन मासुभात खानको लागि मात्र नवीकरण गर्ने अनि आफ्नो स्वार्थको लागि मात्र अघि बढ्ने व्यवसायीलाई निर्वाचित गरेर कार्यसमितिमा पठाउनुपर्ने हो ? त्यसैले निष्पक्ष रुपमा व्यवसायीहरुको माझमा बसेर व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने खालको तथा व्यवसाय हकहितका अधिकारलाई उठान गर्ने व्यक्तित्वलाई निर्वाचित गर्नुपर्ने देखिन्छ । अन्यथा यस छाता संगठनमा मतदान गर्नुको कुनै अर्थ रहँदैन ।