धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीकै सक्रियतामा दाताबाट खरिद गरिएको ‘भेन्डिङ’ मेसिन २ वर्षदेखि थन्किएर बसेको छ ।

महिला महिनावारी भएको समयमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने ‘भेन्डिङ’ मेसिन  प्रयोगविहिन भएर थन्किएको अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष शेखर रेग्मीले बताए । उनका अनुसार मेसिनमा निश्चित रकम हालेपछि प्याड प्राप्त हुन्छ । उक्त मेसिन विभिन्न दाताहरुसँग सहयोग मागेर दुई वर्ष पहिले खरिद गरिएको हो । रेग्मीका अनुसार दाताबाट सङ्कलित रकम ६० हजार र क्याम्पसका तर्फबाट १५ हजार रुपैयाँ गरी ७५ हजार रुपैयाँमा खरिद  गरिएको थियोे । मेसिन खरिद  गरेदेखि नै प्रयोगमा आएको छैन ।

क्याम्पस प्रमुख दामोदर भण्डारीले कोरोनाका कारणले सञ्चालनमा नआएको बताए । उनले भने, ‘कोरोनाका समयमा सञ्चालन गर्नुको औचित्य थिएन ।’ उनले परीक्षण गरेर प्राविधिक रुपमा ठीक भएमा चाँडै सञ्चालन गर्ने बताए । उनले भने, ‘काम गर्छ, गर्दैन परीक्षण गर्छाैँ । काम गर्ने हरेछ भने चाँडै सञ्चालन गर्छौँ ।’ अनेरास्ववियुले  २ वटा माग राख्दै क्याम्पसलाई विज्ञप्ति बुझाएको छ । सोमबार संगठनले २ वटा माग राख्दै विज्ञप्ति बुझाएको हो । सेनिटरी प्याड प्रयोजनको भेण्डिङ मेसिन तत्काल प्रयोगमा ल्याउनुपर्ने र क्याम्पस प्रशासनले तत्काल छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराउनु पर्ने माग अनेरास्ववियुले राखेको छ ।

293805087_567806578223957_7474170844283728194_n