विराटनगर/ विराटनगर महानगरपालिका अब फोहोरमुक्त हुने भएको छ । विराटनगर महानगरपालिकाले घरबाट निस्कने फोहोरसँगै बाटामा हिँड्ने सर्वसाधारणबाट निस्कने फोहोर व्यवस्थापनका लागि अभियान थालेको छ ।
महानगरले नगरका हरेक पसल अगाडि फोहोर भण्डारण र संकलनका लागि एउटा डस्बिन राखेर नगरवासीसँग फोहोर डस्बिनमा फ्याँक्न आग्रह गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार सडकको फोहोर डस्बिनमा राखेर अभियानको शुरु गरेका हुन् ।
महानगरका प्रमुख पराजुलीले आम नगरवासी र बाहिरबाट महानगरमा आउने आगन्तुकलाई समेत फोहोरको व्यवस्थापनमा सक्रिय हुन आग्रह गरे ।
फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधारका लागि नयाँ योजनासहित यस वर्ष महानगरका विभिन्न स्थानमा २ सय डस्बिन राख्ने योजना रहेको महानगरका प्रशासकीय अधिकृत कुमार दाहालले जनाए ।
नगरको महेन्द्र चोकदेखि पुष्पलाल चोकसम्मको मानव भीडभाड हुने सडकमा डस्बिन राख्न थालिएको छ । यस वर्ष २ सय डस्बिन नगरमा राखिने र आगामी वर्ष नगरभर नै डस्बिन राख्ने योजना रहेको प्रशासकीय अधिकृत दाहालको दाबी छ ।