इनरूवाः सुनसरीको इनरूवामा प्रसुति गर्न आएकी महिलालाई जिल्ला अस्पतालले समयमा उपचार सेवा नदिदाँ पेटमा भएको बच्चाको मृत्यु भएको छ ।
अस्पतालका डाक्टरले लापरवबही गर्दा आमाको स्वास्थ्यमा जोखिम र पेटको बच्चाको ज्यान गएको पीडित पक्षले आरोप लगाएको छ ।
जिल्लाको कोसी गाउँपालिका वडा नम्बर ५ श्रीपुरकी ३० वर्षकी सङ्गीता मण्डललाई प्रसुति व्यथा लागेपछि सकुशल र सुरक्षित बच्चा जन्माउने भन्दै इनरूवा अस्पताल आएकोमा बच्चाले संसार नदेख्दै डाक्टरको लापरबाहीले पेटभित्रै मृत्यु भएको पीडितका श्रीमान् ललित मण्डलले बताए ।
मण्डलका अनुसार बुधबार प्रसुति गराउन इनरूवा अस्पताल ल्याएकी पत्नीको अवस्था सामान्य रहेको र नर्मल डेलिभरी हुने भन्दै २४ घण्टासम्म अलमलाएर राखी अस्पतालले बच्चालाई मारिदिएको हो ।
आफूहरू स्वास्थ्य लाभ र सुरक्षित मातृत्वका लागि अस्पताल आएकोमा चिकित्सकले वास्ता नगरेको तथा जुनियर स्वास्थ्यकर्मीले स्लाइन पानी लगाई गफमा व्यस्त भएको र मोबाइलमा लामो समय गफिएर पेटको बच्चाको चाल थाहा नपाई जानीजानी मारेको उनले दुखेसो पोखे ।
घटनामा संलग्न रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कारबाही गर्नुपर्ने , लापरबाही गर्नेहरूलाई कानूनको दायरामा ल्याउनुपर्ने र पीडितलाई स्वास्थ्योउपचारसहित उचित क्षतिपूर्ति दिनुपर्ने माग पीडित पक्षले गरेको छ ।
यता, इनरूवा अस्पतालका प्रमुख डाक्टर देवराज घिमिरेले घटनाको पुष्टि गर्दै आफूहरूको लापरबाही नभई घटना आकस्मिक भएको प्रतिक्रिया दिए । उनले बच्चाको मृत्युु आफूहरूको कारण नभई पेटभित्रै नाल बेरिएको र त्यहीँ ठाउँमा दिशा गरि खाएका कारण भएको बताए । डाक्टर घिमिरेले पेटभित्रै बच्चाको मुटुको चाल कम भएको र अन्य प्राविधिक समस्यासमेत रहेकोले ज्यान गएको तर आमालाई बचाउन सफल भएको बताए । उनका अनुसार १ हजार बच्चामध्ये ८ जनाको यस्तै खालको समस्याबाट मृत्यु हुने गरेको छ ।