विराटनगर: विराटनगर इन्टरनेसनल कलेजका तेस्रो र चौथो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेसनल बिजनेस म्यानेजमेन्टबाट दीक्षित भएका छन् ।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा सञ्चालित सो कलेजले चार वर्ष अध्ययनपश्चात् बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । विराटनगरको बिग होटेलमा शुक्रबार आयोजित कार्यक्रमका बीच बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । कलेजका ७२ जना विद्यार्थी दीक्षान्त कार्यक्रममा सामेल भएको कलेजका अपरेशन प्रमुख विवेक दाहालले जानकारी दिए । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका प्रो–उपकुलपति टिम स्टिलले विद्यार्थीहरुलाई दीक्षित गरेका थिए । उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको र नेपाली बजार मात्र नभई विश्व बजारलाई काम लाग्ने जनशक्ति उत्पादन गर्न सफल हुँदै आएको बताए । कलेजमा विद्यार्थीहरुले अन्तर्राष्ट्रिय शिक्षा पाउन सफल भएको साथै नेपाल र नेपालबाहिर पनि बिद्यार्थीहरुले रोजगारीमा उच्च लगनका साथ काम गर्न सक्ने कलेजका प्रमख कार्यकारी डा.ऋषिकेश वाग्लेले बताए ।
विराटनगर इन्टरनेसनल कलेजमा इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टसहित विगत ८ वर्षदेखि इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बीआईबीएम) र विगत २ वर्षदेखि इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजले विदेश नै गएर ठूलो लगानीमा अन्तर्राष्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्स सर्वसुलभ खर्चमा पढाउँदै आएको छ ।