इटहरीः इटहरी उपमहानगर क्षेत्रमा सञ्चालन भइरहेका सामुदायिक तथा सँस्थागत विद्यालयको सुधारका लागि भन्दै सुरु भएको शिक्षा सुधार अभियानले विद्यालयका विभिन्न आन्तरिक गतिविधिको सूचना माग गर्दा इटहरीको जनता माध्यमिक विद्यालयले आपत्ति जनाएको छ ।
आइतबार इटहरी उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाउँदै जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले विद्यालयमा सञ्चालन भएको विभिन्न कार्यक्रमको अभिलेख माग्ने कार्यले विद्यालयलाई तनाव दिएको बताएका छन् । विद्यालयले नियमित रुपमा सामाजिक परीक्षण, लेखापरीक्षण, पाठ्यपुस्तक वितरण, छात्रवृति वितरण तथा अभिभावक भेलाको आयोजना गरिरहेको भन्दै प्रधानाध्यापक सिग्देलले शिक्षा सुधार अभियान इटहरीको नामबाट केही व्यक्तिहरुले विद्यालयको शैक्षिक वातावरणलाई खलल पुर्याएको बताउँदै नगरप्रमुख हेमकर्ण पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
शिक्षा सुधार अभियान इटहरीले विद्यालयको प्रशासनिक कागजात तथा शिक्षक कर्मचारीको हाजिरी एंव तलबी विवरण मागेको भन्दै केही व्यक्तिहरुले गैह्रकानूनी रुपमा सामुदायिक विद्यालयलाई हतोत्साहित पार्ने उद्देश्यले योजनावद्ध रुपमा विद्यालयमाथि प्रहार गरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । शिक्षा सुधार अभियानलाई कथितको संज्ञा दिदैँ ध्यानाकर्षण पत्रमा पटकपटक विद्यालयको छविमा आँच पुयाएकाले त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी समस्याको समाधान गर्न नगरप्रमुखलाई अनुरोध गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ मा रहेको जनता माध्यमिक विद्यालयले अभिभावकको भेला नगराई गुपचुप राजनितिक दलको भागबण्डाको आधारमा व्यवस्थापन समिति गठन गरेको थियो भने हालै मासिक ज्यालादारी भन्दै शिक्षक सेवा आयोगको मापदण्डविपरीत लिखित परीक्षाबिना नै ८ जना शिक्षक छनौटसमेत गराएको आरोप लागेको छ । नमुना विद्यालयको रुपमा सञ्चालन भइरहेको जनता माविले विद्यार्थीको पोसाक तथा पाठ्यपुस्तकमा अनियमतिता गरेको तथा नियमविपरीत सहयोगका नाममा अंग्रेजी माध्ययममा पढाउने भन्दै अभिभावकबाट १९ हजार ७ सय ५० रुपैयाँ असुल गर्ने गरेको आरोप पनि छ । शिक्षा सुधार अभियान इटहरीले यीनै विषयमा छानबिनको माग गर्दै इटहरी उपमहानगरपालिकाका साथै वडा कार्यालय र शिक्षा महाशाखा तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाइसकेको छ ।
त्यसैगरी, इटहरीका ७ वटा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षा सुधार अभियानको गतिविधिप्रति आपत्ति जनाउँदै अर्को ध्यानाकर्षणपत्रसमेत नगरपालिकालाई बुझाएका छन् । ध्यानाकर्षणपत्रमा लेखिएका कुराहरु सरसर्ति हेरेरै आफूले पनि पत्रमा हस्ताक्षर गरेको पकली माविका प्रधानाध्यापक यज्ञप्रसाद ढकाल बताउँछन् । सूचनाको हक अनुरुप विद्यालयले सुचना दिने भएता पनि कानुनसम्मत ढङ्गले नगरपालिकाको शिक्षा शाखामार्फत् आए विद्यालयलाई सूचना दिन सजिलो हुने प्रधानाध्यापक ढकालले प्रदेश पोर्टललाई बताए । सामुदायिक विद्यालयहरु केही मात्रामा खराब भएको स्वीकार गर्दै ढकालले शिक्षा सुधार अभियान आवश्यक भएको बताए । शिक्षा सुधार अभियानलाई ‘कथित’ भन्नेमा भने आफ्नो पनि सहमति नरहेको ढकालको भनाइ थियो ।