इटहरीः इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले शिक्षक कर्मचारी नियुक्तिमा मनोमानी गरेको तथा विद्यार्थीलाई प्रदान गरिने दिवा खाजा, छात्रवृत्ति लगायतका सुविधामा अनियमितता गरेको आशंका गर्दै केही अभिभावक तथा सरोकारवालाले इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखासमक्ष अभिलेख उपलब्ध गराइदिन माग गरेका छन् ।

केही समय अघिदेखि इटहरीको सामुदायिक तथा सँस्थागत विद्यालयमा भएका विकृति, विसंगति तथा बेथितिविरुद्ध आवाज उठाइरहेको शिक्षा सरोकार अभियान इटहरी र जनता माविका अभिभावकहरुले विद्यालयको अभिलेख उपलब्ध गराइदिन माग गर्दै शिक्षा महाशाखाका प्रमुख सूर्यप्रसाद सुवेदीसमक्ष निवेदन दिएका हुन् । अभियानकर्मीहरुले साउन ६ गते जनता माध्यमिक विद्यालयमा छात्रवृत्तिको अभिलेख, २०७५ साल देखिको विद्यालयको लेखापरीक्षण, दिवा खाजाको अभिलेख र जनता माविका शिक्षक कर्मचारी टेकबहादुर ढकालको तलब विवरणको अभिलेख माग गर्दै निवेदन दिएका थिए । सूचनाको हक प्रयोग गर्दै दिइएको सो निवेदनउपर सुनुवाइ नगरी जनता माध्यमिक विद्यालयले कथित शिक्षा सुधार अभियानले आफूलाई तनाव दिएको भन्दै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

ec2

जनता मावि र इटहरीका ७ वटा विद्यालयका प्रधानाध्यापकहरुले गरी छुटाछुटै २ वटा ध्यानाकर्षणपत्र उपमहानगरपालिकामा पुगेका छन् । शिक्षा सुधार अभियान इटहरीका तर्फबाट पदम अधिकारी र सम्राट थापा तथा जनता माविका अभिभावक तथा सरोकारवाहरु राजु केसी, ज्ञानमणि दाहाल, देवराज अधिकारी, अतितकिरण नेपाल र नारायण वाग्लेले शिक्षा महाशाखालाई सोमबार अभिलेख माग गर्दै निवेदन बुझाएका हुन् । निवेदनमा २०७९ जेठ र असारको हाजिरीको अभिलेखसमेत माग गरिएको छ भने हालै नियुक्ति पाएका शिक्षकको नियुक्तिको विधि तथा प्रक्रिया शिक्षा नियमावलीअनुरुप भए वा नभएको जानकारीसमेत माग गरिएको छ । विद्यालयले २०७८ फागुनमा अभिभावकको उपस्थितिबिना नै केही राजनीतिक दलको भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै त्यो अभिभावक भेलाका उम्मेदवार सहितको अभिलेखसमेत माग गरिएको छ ।

ec4

शिक्षा सुधार अभियानले जनता माविले अंग्रेजी माध्यमबाट पढाइ गराउने भन्दै प्रतिविद्यार्थी वार्षिक १९ हजार ७५० रुपैयाँ कुन आधारले उठाइने गरेको हो भन्दै त्यसको औचित्यको अभिलेखसमेत शिक्षा महाशाखामार्फत् विद्यालयसँग माग गरेको छ । आइतबार नगरप्रमुख हेमकर्ण पौडेलसँगको भेटमा नियमावलीमा केही बुँदा परिमार्जन गर्नुपर्ने भन्दै अभियानको मागलाई सम्बोधन गर्ने वचन मेयरले दिएको छलफलमा सहभागी मध्येका ज्ञानमणि दाहालले प्रदेश पोर्टललाई बताए । शिक्षा सुधार अभियान इटहरीले जनता माविकै विषयलाई लिएर नगरप्रमुख पौडेललाई गत साउन २ गते ५ दिनको अल्टिेमेटम दिँदै ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पौडेलले आफूलाई एक महिनाको समय दिन माग गरेको अभियन्ता पदम अधिकारीले सुनाए ।

ec5

ec3