इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग सम्मिलित टोलीले श्रमदानलाई निरन्तरता दिएपछि स्वास्थ्यकर्मीले पनि स्वतःस्फुर्त रुपमा स्वास्थ्य सेवासमेत निःशुल्क प्रदान गर्न थालेका छन् ।
धरानको सर्दु खोलाको बगर छेउमा भइरहेको खानेपानीको ट्याङ्कीको इन्टेक निर्माणमा श्रमदान गर्न आउनेहरुलाई लक्षित गरेर धरानस्थित सिसम मेडिकल हलले स्वास्थ्य सेवा प्रदान गरेको हो ।
मेयर साम्पाङको नेतृत्वमा पकुवा, निशाने खोलाको प्रोजेक्ट सकिएपछि अहिले सर्दु खोलामा जनश्रमदान भइरहेको छ । स्वतःस्फुर्त रुपमा खटिरहेका धरान जनताको रेखदेख र चोटपटक लागि हाले उपचारको लागि डाक्टरसमेत खटिरहेका छन् । सर्दुको बगरमा श्रमदान गर्नेलाई उपचार गर्न दुई जना स्वास्थ्यकर्मी निःशुल्क खट्न थालेका छन् । मुलतः यी स्वास्थ्यकर्मीहरु श्रमदान गर्नेलाई घाउ, चोटपटक लागे, टाउको दुखे, रिङ्गटा लागे हेरचाह र औषधि वितरण गर्ने काममा सक्रिय देखिन्छन् ।
श्रमदानमा स्वास्थ्य सेवा दिइरहेको सिसम मेडिकल हलका सञ्चालक शिव चाम्लिङ राई धराने जनता स्वतःस्फुर्त खोलाखोल्सा चहारेर गिटी कुटिरहेको, ढुङ्गा बोकेर, बालुवा बोकिरहेको देख्दा खुट्टामा चोटपटक लाग्दा स्वास्थ्य सेवा पनि आवश्यक छ भनेर सेवा सुरु गरिएको बताउँछन् । कसैलाई आवश्यकता महसुस भए एम्बुलेन्स सेवासमेत प्रदान गर्ने राईले बताएका छन् ।