इटहरी/ पछिल्लो समय हिन्दू धर्मलाई परिष्कृत गर्नुपर्ने आवाज उठिरहेको छ । सनातन हिन्दू धर्मअन्तर्गत रहेका कतिपय परम्परा आधुनिक समयअनुसार परिवर्तित गर्दै लानुपर्ने आवाज बेलाबेलामा उठ्ने गरेको पाइन्छ । पछिल्लो समय बहसमा आएको एउटा विषय काजकिरियालाई कति दिनमा सक्ने भन्ने हो । १३ दिनमा सक्ने काजकिरियाको काम ३ दिन वा ७ दिनमै सक्नुपर्ने भन्ने आवाज पनि उठिरहेको छ ।

यसै क्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले आफ्नी दिवंगत आमाको काजकिरिया ७ दिनमै सक्ने निर्णय गरेका छन् । विराटनगरको जनपथ टोलका स्थायी बासिन्दा कार्कीले आफ्नी आमाको काजकिरिया आज शुक्रबार सक्ने भएका छन् । उनकी आमा डम्बरकुमारी कार्कीको ९३ वर्षको उमेरमा असार १६ गते नवलपरासीको गैंडाकोटमा मृत्यु भएको थियो र देवघाटमा दाहसंस्कार भएको थियो ।

आमाको अन्तिम इच्छाअनुसार देवघाटमा दाहसंस्कार गरिएको कार्कीले बताए । ‘राजा महेन्द्रको दाहसंस्कार भएकै ठाउँ पवित्र तीर्थस्थल देवघाटमा मेरो दाहसंस्कार गर्नू भनी आमाले भन्नुभएको थियो,’ फोन सम्पर्कमा उनले भने, ‘आमाको त्यही घिडघिडो पूरा गर्न देवघाटमा दाहसंस्कार गरिएको हो ।’

श्रद्धाञ्जली सभा गरी किरिया समापन
कार्कीका अनुसार आज शुक्रबार श्रद्धाञ्जली सभा गरी उनले आमाको किरिया सम्पन्न गर्ने छन् । आजसम्म आफूसहित सबै भाइले हिन्दू सनातनी परम्पराअनुसार नै अन्त्यपद्धतिका कार्य गर्दै आएको उनले बताए । ‘हिन्दू धर्ममा पनि रुढीवादी छ । अहिलेको समाजअनुसार हिन्दू धर्म हिँड्न सकेको छैन । बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको अन्त्य हुनुपर्छ,’ कार्कीले भने, ‘हिन्दू धर्मका विकृति हटाउनुपर्छ भन्ने मनसायले चारै भाइको सहमतिमा ७ दिनमा आमाको काम सक्ने निर्णय गरिएको हो ।’ आफू साधारण परिवारको भएको हुनाले बिपी कोइरालाले जस्तो क्रान्तिकारी कदम चाल्न नसके पनि समाजले पचाउनेसम्मको सानो क्रान्ति गर्न चाहेको उनको भनाइ छ ।

धेरै प्रशंसा, थोरै आलोचना
आफूले गरेको क्रान्तिकारी कामको सबैतिर प्रशंसा भइरहेको कार्कीले बताए । दाजुभाइ, आफन्त, संघीय समाजवादी फोरम नेपाल, खस क्षत्री एकता समाजलगायतले प्रशंसा गरेको उनी बताउँछन् । खस जनजाति महासंघ भारतले पनि प्रशंसा गरेको उनले सुनाए । अब यही कार्यलाई निरन्तरता दिनुपर्ने सबैको सुझाव रहेको उनी बताउँछन् । भेटेर तथा फोन र एसएमएसमार्फत् प्रशंसनीय काम भएको भनी प्रशंसा भइरहेको उनले बताए ।

ब्राह्मण समाज र पुरानो चलन तोड्न नचाहनेले भने विरोध गर्ने तथा धम्क्याउने काम गरिरहेको उनले सुनाए ।

६ दिनमा ५ जना पुरोहित
सामान्यतः अन्त्येष्टी कार्यमा एकै जना पुरोहित लगाउने चलन छ । तर कार्कीले भने ६ दिनमा ५ जना पुरोहित लगाएको बताए । ‘एक दिन एक जना आउनुहुन्छ । उहाँलाई जातबाट काढ्ने भनेर धम्क्याइँदो रहेछ । पुरोहितहरूले धम्क्याएपछि बेलुका फोन गरेर आफू आउन नसक्ने जानकारी गराउनुहुन्छ अनि नयाँ पुरोहित खोजिन्छ’ उनले भने, ‘हरेक दिन सोही प्रक्रिया दोहोरिइरहेको छ ।’ शुक्रबार सबै ५ जना पुरोहितलाई बोलाएको उनले जानकारी दिए । ‘भोलि सबै पुरोहितलाई बोलाएको छु । आज सबै अन्त्येष्टी कर्म सकिएको छ’, बिहीबार साँझ फोन सम्पर्कमा कार्कीले भने, ‘अब दान दक्षिणाको काम मात्रै बाँकी छ ।’ राधाकृष्ण मन्दिर र पाञ्चाली मन्दिरका पुजारीले आफूकहाँ आउने पुरोहितलाई धम्क्याएका कारण पुरोहित फेरिरहनुपरेको उनले बताए ।