इटहरीः इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले शिक्षक कर्मचारी छनौटको परीक्षा शिक्षक सेवा नियमावलीविपरीत सञ्चालन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको छ ।

विद्यालयले असार २३ गते प्रकाशन गरेको विज्ञापनबमोजिम निमावि शिक्षकको लागि आवेदन दिएकी इटहरी ४ कि मनिषकुमारी तिमल्सिनाले मङ्गलबार इमेलमार्फत् आयोगको इटहरी सम्पर्क कार्यालयमा उजुरी गरेकी हुन् । जनता माविले शिक्षक सेवा नियमावलीमा नटेकी मनोमानी ढंगले शिक्षक कर्मचारी नियुक्त गरेकोले नियमविपरीत गरिएको परीक्षा रद्द गरी पुनः नियमसम्मत रुपमा शिक्षक छनौटको प्रक्रिया पूरा गर्न माग गर्दै आफूले इमेलमार्फत् अख्तियारमा उजुरी गरेको मनिषले प्रदेश पोर्टललाई बताइन् ।

विज्ञापनमा मौखिक र प्रयोगात्मक तथा कक्षा अवलोकन भनेर परीक्षाको किसिम खुलाइएको भएता पनि गत साउन २ गते अन्तवार्ताको लागि बोलाइएको र प्रयोगात्मक तथा कक्षा अवलोकन केही नगरी शिक्षासँग सम्बन्धित कुनै पनि प्रश्नसमेत नगरी शिक्षक छनौट गरिएको तिमल्सिनाले बताएकी छन् । शिक्षा ऐन तथा नियमावलीमा सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्दा लिखित, प्रयोगात्मक र अन्तरवार्तासमेत गराई उल्लिखित परीक्षाको अंक निर्धारण गर्नुपर्ने तथा विज्ञापनको अवधिसमेत ३० दिनको हुनुपर्नेमा जनता माविले उक्त नियममा नटेकेको निवेदकको आरोप छ ।

नमुना विद्यालयको रुपमा सञ्चालन भइरहेको जनता माविले मासिक ज्यालादारी भन्दै बाल कक्षाको शिक्षक, आया, सवारी चालक, निमावि शिक्षक र रसायनशास्त्रको १२ कक्षा पढाउने शिक्षकको परीक्षा अन्तरवार्ता मात्र गरेर सम्पन्न गरी परीक्षाफल प्रकाशन गरेको थियो । विभिन्न ८ जना शिक्षक तथा कर्मचारीको नियुक्तिका लागि विद्यालयमा ५१ जनाको आवेदन परेको थियो भने २ जनाबाहेक ४९ जना आवेदक परीक्षामा सामेल भएका थिए । विद्यालयले अन्तरवार्ता र कक्षा अवलोकनको माध्यमबाट शिक्षक छनौट गरेको दाबी गरेता पनि निवेदक मनिषकुमारीले आफूले अन्तरवार्ता मात्र दिएको तर अन्य परीक्षामा आफूलाई सामेल नगराइएको बताएकी छन् ।

विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले भने मासिक ज्यालादारीअन्तर्गत विद्यालयको आन्तरिक स्रोतबाट तलब दिने गरी शिक्षक छनौट गरिएकोले शिक्षक सेवा आयोगको नियमावली टेक्न जरुरी नभएको दाबी गरेका छन् । प्रदेश पोर्टलसँगको कुराकानीमा सिग्देलले विज्ञको टोलीसहित अन्तरवार्ता लिइएकोले आफूहरु नियमसम्मत रहेको बताएका थिए । केही दिनअघि सोही विषयमा प्रदेश पोर्टलमा समाचार प्रकाशन भएपछि शिक्षा सुधार अभियान इटहरीलगायत सरोकारवालाहरुले समेत उक्त विषयमा ध्यानाकर्षण गर्दै छानबिनको माग गरेका छन् ।

विद्यालयले विद्यार्थीलाई प्रदान गरिने दिवा खाजा, छात्रवृत्ति लगायतमा अनियमितता गरेको आशंका गर्दै केही अभिभावक तथा सरोकारवालाले इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखासमक्ष सोको अभिलेख उपलब्ध गराइदिन माग गरेका छन् । केही समय अघिदेखि इटहरीका सामुदायिक तथा सँस्थागत विद्यालयमा भएका विकृति, विसङ्गतिविरुद्ध आवाज उठाइरहेको शिक्षा सरोकार अभियान इटहरी र जनता माविका अभिभावकहरुले विद्यालयको अभिलेख उपलब्ध गराइदिन माग गर्दै शिक्षा महाशाखाका प्रमुख सूर्यप्रसाद सुवेदीसमक्ष निवेदनसमेत दिएका छन् ।