इटहरीः सरकारले एसिड आक्रमणबाट पीडित व्यक्तिको निःशुल्क उपचार गर्ने भएको छ ।
देशका जुनसुकै स्वास्थ्य सँस्थाबाट एसिड पीडितले आकस्मिक उपचार सेवा निःशुल्क पाउने भएका छन् । आकस्मिक उपचारपछि आवश्यक पर्ने थप उपचारका लागि भने सरकारले तोकेका निश्चित अस्पतालहरुमा पुगेर निःशुल्क उपचार गराउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंकै वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका पीडितहरूको निःशुल्क उपचार गरिन्छ । एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार सरकारले यस्तो सुविधा दिएको हो ।