धरानः धरान–६ स्थित पानवारीमा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा गरिएको स्वास्थ्य परीक्षणपश्चात् उक्त क्षेत्रमा अन्य स्थानभन्दा बढी रुपमा धुम्रपान गर्ने बिरामीहरु पाइएको छ ।
परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २१ औँ सँस्करणमा धरान–६ स्थित सरस्वती मा. वि. को सहकार्यमा पानवारीमा आयोजना गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिएको उक्त निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा ९५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
विशेषगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि आयोजना गर्ने गरिएको यो कार्यक्रम धरानका विभिन्न वडाहरुमा आयोजना गर्ने अभियानअनुरुप यस पटक वडा नं. ६ मा आयोजना गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए । यस क्षेत्रमा स्वास्थ्य जाँच गर्दा बजारका वडाहरुभन्दा बढी धुम्रपान गर्ने र खानपानमा ध्यान नदिने बिरामीहरु देखिएकोले जनचेतना जगाउनसमेत आवश्यक रहेको बरालले बताए ।
त्रिभुवन बरालको संयोजकत्वमा आयोजित उक्त निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा सल्लाहकार मोहन श्रेष्ठ, कोषाध्यक्ष वर्षा अग्रवाल, निशान नेपाल, जेनिश शाक्य, हेम ढकाल, प्रशान्त अग्रवाल लगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो भने स्टाफ नर्स चेतना परियारले बिरामीहरुको रक्तचाप परीक्षण गरेकी थिइन् ।
शैक्षिक गतिविधिसँगै स्वास्थ्यको कार्यक्रम गर्न पाएकोमा विद्यालयका प्र.अ. गंगाप्रसाद धमलालले खुशी व्यक्त गरे । साथै परिवर्तनका लागि सामाजिक अभियानले यस्तो सराहनीय कार्य गरेकोमा धमलाले आयोजक सँस्थाप्रति धन्यवाद ज्ञापन गरे ।