धरानः चिल्ड्रेन एकेडेमी र होलिल्याण्ड स्कुल प्रदेश १ स्तरीय अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको फाइनलमा भिड्ने पक्का भएको छ ।

डिपो स्कुलको बास्केटबल कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुलविरुद्ध  ३९–२० अङ्कको सहज जित निकाल्दै फाइनल प्रवेश गरेको हो । चिल्ड्रेन एकेडेमी र कार्मेल स्कुलले प्रत्यक क्वार्टरमा ९–५, ६–९, २१–३ र ३–३ अङ्क जोडेका थिए । खेलमा जितका लागि  चिल्ड्रेनका पीयूष तामाङले व्यक्तिगत १७ अङ्क जोडे । त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा होलिल्याड स्कुलले टावर टेम्पल स्कुल बिर्तामोडविरुद्ध सबै क्वार्टरमा अग्रता बनाउँदै ५४–१२ अङ्कको फराकिलो जित निकाली फाइनलमा स्थान सुरक्षित गरेको छ ।

होलिल्याड स्कुलले टावर टेम्पलविरुद्ध प्रत्येक क्वार्टरमा १०–०, १२–४, २०–४ र १२–५ अङ्क  जोडेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका होलिल्याड स्कुलका इङ्ग्वाहाङ लिम्बूले व्यक्तिगत ३८ अङ्क जोडे । प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राविधिक सहयोगमा  सम्पन्न प्रतियोगिताको फाइनल खेल श्रावण २० गते बिहान ९ः०० बजे हुनेछ ।