इटहरीः रामधुनी नगर प्याब्सनको आयोजनामा रामधुनी नगरभरि सञ्चालन भएका १६ विद्यालयका ६४ जना विद्यार्थीबीच हस्तलेखन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । 

झुम्काको आरम्भ विद्या मन्दिरमा सञ्चालन भएको प्रतियोगितालाई निष्पक्ष बनाउन निर्णायक समितिले प्रतियोगीको नाम र विद्यालयसमेत थाहा नहुनेगरी कोडको व्यवस्था गरेको थियो । विद्यालयहरुबाट छनौट भएर आएका विद्यार्थीहरुले प्राथमिक तह कक्षा १ देखि ५ सम्मको र निमावि तह कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच नेपाली र अंग्रेजी विषयमा छुट्टाछुट्टै प्रतियोगिता गरिएको थियो । 

प्रतियोगिताबाट प्राथमिक तहको नेपालीतर्फ सिद्धार्थ शिक्षा सदनकी छात्रा श्रेया कार्कीले प्रथम स्थान हासिल गरिन् भने नवकिरण बोर्डिङ्ग स्कुलकी छात्रा अनुज्ञा चापागाईले द्वित्तीय स्थान हासिल गरेकी थिइन् । यसैगरी, अल्पाइन स्कुलका दोरण थापाले तृतीय स्थान पाएका थिए । त्यसैगरी, प्राविकै अंग्रेजी हस्तलेखनतर्फ हिमाल पब्लिक स्कुलकी छात्रा युनिका आचार्यले प्रथम स्थान ल्याइन् भने राइजिङ्ग स्टारकी युनिसा बस्नेतले द्वित्तीय स्थान हासिल गरेकी थिइन् । अंग्रेजी हस्तलेखनमा माउण्ट समिट वर्ड स्कुलका छात्र रिकेश चौधरीले तृतीय स्थान प्राप्त गरेका थिए । 

293431326_443125847706676_4760018359037785872_n

निमावि तहको हस्तलेखन प्रतियोगितामा नेपाली विषयतर्फ आरम्भ विद्या मन्दिरकी छात्रा राशी कार्कीले प्रथम स्थान प्राप्त गरिन् भने युनिक एकेडेमीकी छात्रा अर्पणा श्रेष्ठले द्वित्तीय र नवकिरण बोर्डिङ्ग स्कुलकी छात्रा निकिता घिमिरेले तृतीय स्थान पाउन सफल भएकी छन् । यसैगरी, अंग्रेजी विषय तर्फको प्रतियोगितामा हिमाल पब्लिक स्कुलका एल्सन श्रेष्ठ प्रथम भएका थिए । द्वित्तीय स्थानमा सिद्धार्थ इङ्गलिस स्कुलका छात्र कुन्दन मण्डल आए भने तृतीय स्थानमा नवकिरणकी अर्पणा पौडेल आइन् । प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष सुमित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हस्तलेखन प्रतियोगितामा सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतियोगितामा उत्कृष्ट अंक ल्याएर प्रथम। द्वित्तीय र तृतीय हुने विद्यार्थीहरुलाई रमेश कार्की, उमेश थापा, गोपाल निरौला, कार्यक्रमका सभापति अच्युत ढकाल, रामधुनी प्याब्सनकै सरोज माझी लगायतले अविर लगाएर सम्मान गर्नुका साथै ट्रफी प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव तथा आरम्भ विद्या मन्दिरका निर्देशक हरि रायमाझीले गरेका थिए भने कार्यक्रम प्याब्सन रामधुनीका अध्यक्ष अच्युत ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस वर्ष रामधुनीमा सञ्चालित धेरै विद्यालयहरुले हस्तलेखनका लागि अतिरिक्त शिक्षक राखेर प्रयोगात्मक कक्षासमेत सञ्चालन गरेकाले लेखनमा सुधार भएको आरम्भ विद्या मन्दिरका सञ्चालक सदस्य अनिस उप्रेतीको भनाइ छ । धेरैजसो प्रतियोगीहरुको हस्तलेखन नेपाली विषयमा कमजोर रहेको र अंग्रेजी विषयमा भने धेरै अब्बल देखिएको प्रतियोगिताका निर्णायकले सुनाए ।