खोटाङः जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश–१ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो । 

अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन् । मुन रक्स इन्टरनेशनलले जडान गरेको प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले औपचारिकरूपमा शुभारम्भ गरे । 

अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग गर्न सुरु गरिएको जनाइएको छ । प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रु १५ मा बिक्री गर्ने निर्णय अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राईले जानकारी दिए । 

प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन खरिद गर्न विराटनगरलगायतका ठाउँ धाउनुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका प्रमुख डा. नितु लामाले बताइन् । -रासस