इटहरीः सुनसरीको इटहरीमा अवस्थित जनता बहुमुखी क्याम्पसमा कर्मचारी नियुक्ति प्रक्रिया नियमसम्मत नभएको भन्दै विद्यार्थी संगठनले गरेको आन्दोलनमा स्थानीयवासीले समर्थन गरेका छन् ।
क्याम्पसले गत चैत २६ गते ६ जना कर्मचारी नियुक्त गर्ने विषयमा क्याम्पस पदाधिकारी र प्राध्यापकका आफन्त नियुक्त गर्न लागेको तथ्य बाहिर आएपछि विभिन्न छ विद्यार्थी सङ्गठनले विरोध गरेका थिए । कर्मचारी नियुक्तिको विरोध गर्दै ६ विद्यार्थी संगठनले गरेको आन्दोलनमा नेपाली काङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले साथ दिएको छैन । क्याम्पस व्यवस्थापन समितिले समयमा निर्णय लिन नसक्दा विद्यार्थी सङ्गठनले स्थानीयवासीलाई समेत क्याम्पसले गरेको कर्मचारी नियुक्तिको विषयलाई लिएर आफ्नो साथमा लिएका छन् । मंगलबार भएको स्थानीयवासीसँगको भेलामा विद्यार्थी संगठनले उठाएको मुद्दालाई स्थानीयवासीले समर्थन गरेको नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष अतितकिरण नेपालले प्रदेश पोर्टललाई बताए ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु, नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियू, माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) लगायत ६ विद्यार्थी सङ्गठनले क्याम्पस आसपासका स्थानीयलाई भेला गरी क्याम्पसमा भएका बेतिथिबारे धारणा राखेका थिए । अभिभावक तथा स्थानीयले क्याम्पसमा भएको चलखेलको बारे आफ्ना धारणा राख्दै विद्यार्थीले उठाएका प्रश्न जायज रहेको भन्दै समर्थन गरेका हुन् । उनीहरूले क्याम्पसका पदाधिकारीले आफ्ना मान्छे नियुक्त गर्न एकैदिन लिखित, मौखिक परीक्षा लिनु अत्यन्तै गैरजिम्मेवार कार्य भएको टिप्पणी गरे । स्थानीय सन्तोष पराजुलीले शैक्षिक क्षेत्रमा राजनीतिक भागबण्डा पाउनु आफैँमा दुःखलाग्दो विषय रहेको बताए । उनले कर्मचारी भर्नाका रूपमा आफन्त राख्ने कामको विरोध गर्दै विद्यार्थी सङ्गठनले गरेको आन्दोलनलाई समर्थन रहेको बताए । यस्तै, सुष्मा तिम्सिनाले हरेक परीक्षा पारदर्शी हुनुपर्ने बताइन् । विशिष्ट शिक्षण गर्ने सँस्थामा फोहोरी राजनीतिले गर्दा शैक्षिक स्तरसमेत खस्किँदै गएको उनले बताइन् । उनले राजनीतिक रूपमा भागबण्डा पाउनुभन्दा सक्षम र योग्य व्यक्ति नियुक्त गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रि«य स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटी अध्यक्ष उज्ज्वल सिग्देलले क्याम्पसभित्र चरम बेतिथि हुने गरेको तर्क राखेका थिए । उनले अहिले भएको कर्मचारी भर्ना एक उदाहरण मात्र भएको भन्दै यस्ता प्रकारका कार्य विगतका दिनमा समेत हुने गरेको बताए । जबसम्म नियुिक्त प्रक्रिया खारेज हुँदैन तबसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला नखोल्ने र आन्दोलन जारी राख्ने चेतावनी दिए । त्यस्तै, अखिल नेपाल राष्ट्रि«य स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का क्याम्पस कमिटी अध्यक्ष अर्जुन पौडेलले क्याम्पसमा सामान्य कर्मचारी नियुक्तिदेखि प्राध्यापक नियुक्तिमा राजनीतिक भागबण्डा लाग्ने गरेको आरोप लगाए । उनले पटक–पटक क्याम्पस व्यवस्थापन समितिलाई लिखित र मौखिक जानकारी गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको बताए । उनले कर्मचारी भर्ना खारेजीको माग गर्दै आन्दोलन जारी राख्ने बताए ।