धरानः हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा पिपल्स सप लायन्स तिज उत्सव सिजन २ धरानमा हुने भएको छ ।

पिपल्स सप र धरानका लायन्स क्लवको संयुक्त आयोजनामा यही भाद्र ९ गते एक दिने उत्सवको आयोजना गर्न लागिरहेको आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् । पहिलो सँस्करणपछि कोरोना महामारिका कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिनका लागि तिज उत्सवको आयोजना गर्न लागिएको पिपल्स सपका प्रोपराइटर एवं एरिया चिफ लायन कविता लिम्बूले जानकारी दिइन् । पहिलो सँस्करण पिपल्स सपको एकल आयोजना रहे पनि दोस्रो सँस्करण धरानका लायन्स क्लबहरुको संयुक्त आयोजनामा गर्न लागिरहेको आयोजकले बताएका छन् । विशेषगरी महिला लक्षित उत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसँगै उपस्थितिहरु मध्येबाट मिस एण्ड मिसेज तिज उपाधिसमेत प्रदान गरिनेछ ।

उपाधि विजेतालाई क्राउन र गिप्mट ह्याम्पर प्रदान गरिने कार्यक्रमका संयोजक शिखा लिम्बूले बताइन् । यसैगरी, सहभागीहरुबाट नै मिस एण्ड मिसेस क्याटवक, बेस्ट ड्रेस, बेस्ट मेकअप, बेस्ट हेयर, बेस्ट गु्रप डान्स, सोलो डान्सलगायत उपाधि प्रदान गरिने संयोजक लिम्बूले जनाइन् । उनीहरुले आकर्षक गिप्mट ह्याम्पर प्राप्त गर्नेछन् । धरान १५ स्थित किरात याक्थुम चुम्लुङ हिमको हलमा आयोजना हुने उत्सवमा मौलिक परिकार र सामग्रीहरुको स्टलसमेत हुनेछ । स्टलमा मेहन्दी, नेलआर्ट, फुड स्टल, घरेलु सामग्री, सौदर्य सामग्री लगायत बिक्रीका लागि राखिनेछ । उत्सवको दिन लायन्स क्लब अफ पञ्चकन्याले शिक्षाको लागि एक रुपैयाँ रकम संकलन अभियानको घोषणासमेत गर्ने लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

एक करोड रुपैयाँ संकलनको लक्ष्यसहित अभियान सुरु गरिने उनले बताइन् । उत्सवबाट उठेको रकमले काठमाडौँमा उपचाररत क्यान्सर पीडित युमारानी लिम्बूलाई करिव दश हजार रुपैयाँ सहयोग गरिने एरिया चिफ लायन कविता लिम्बूले बताइन् । पत्रकार सम्मेलनमा रिजन चियर पर्सन लायन रुक्मणि मास्के, जोन चियर पर्सन लायन कमला लिम्बू, कृति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।