इटहरीः प्रविधिको दुरुपयोगले नयाँ शैलीका अपराध हुन थालेको भन्दै त्यस्ता अपराधको अनुसन्धान जटिल बनिरहेको सुरक्षा अधिकारीले बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं प्रदेश १ प्रहरी कार्यालयले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी अधिकारीहरुले अपराधको ट्रेन्ड बदलिँदै गएको धारणा सुरक्षा निकायका अधिकृतहरुले राखेका छन् ।

नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकालले अपराध अनुसन्धान नेपाल प्रहरीको महत्वपूर्ण जिम्मेवारी भएको बताए । उनका अनुसार अनुसन्धानलाई विशिष्ट, प्रभावकारी, वैज्ञानिक, प्रमाण र परिणाममुखी बनाउन तथा समस्या केलाउन अनुसन्धान अधिकृतलाई सहभागी गराएर गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा अपराधसँग सम्बन्धित प्रमाण संकलन, प्रमाणको परीक्षण र सुरक्षा, सीमा अपराध, हिरासत व्यवस्थापन, प्रमाणमुखी अनुसन्धान, फैसला कार्यान्वयन लगायतका विषयमा अनुसन्धान अधिकृतबीच अनुभव आदानप्रदान एवं छलफल भएको ढकालले बताए । 

प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले गोष्ठीमार्फत अनुसन्धानमा भएका असल एवं सबल पक्षका बारेमा छलफल गर्दै थप सूचना र सीपहरु आदानप्रदान भएको बताए । गिरीले अनुसन्धानमा लापरबाही र हेलचेक्राइँ गर्न नहुनेमा जोड दिएका छन् । घटना स्थापित हुने र पीडितले न्याय पाउने गरी अनुसन्धान गरेर मिसिल तयार पार्नुपर्ने उनको भनाइ छ । 

सीआईबीका प्रमुख एवं नेपाल प्रहरीका एआईजी उत्तमराज सुवेदीले पछिल्लो तथ्यांकले अपराधको शैली परिवर्तनलाई पुष्टि गरेको बताए । नयाँ–नयाँ अभ्यासका अपराधको तथ्यांकले समाज गलत बाटोतर्फ अघि बढ्दै छ भन्ने पुष्टि हुने एआईजी सुवेदीको भनाइ छ । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहले प्रहरीको एकल दायित्वभित्र रहेको अपराधको अनुसन्धान जटिल विषय भएको बताए ।

सिंहले कुनै पनि दबाब र प्रभावमा नपरिकन अनुसन्धानलाई प्रभावकारी बनाउँदै कार्यकौशलता प्रदर्शन गर्न अनुसन्धान अधिकृतलाई निर्देशनसमेत दिए । फौजदारी न्याय प्रणाली अनुसन्धान, अभियोजन र न्याय निरुपणमा आधारित रहने बताउँदै उनले चुनौतीपूर्ण बनिरहेको साइबर अपराधको अनुसन्धान प्रादेशिक तहबाटै हुनुपर्नेमा जोड दिए । 

प्रदेश १ का १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख र अपराध अनुसन्धान गर्ने ३८ वटा प्रहरी इकाईका अधिकृत सहभागी गोष्ठीको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरेका हुन् । आन्तरिक मन्त्री कार्कीले पछिल्लो समय मानिसको रहनसहन, बानीव्यवहार, समय, परिस्थितिसँगै अपराधको शैली पनि परिवर्तन हुन थालेको बताए। उनले एउटै ढाँचाबाट मात्र अनुसन्धान गर्न कठिन हुने भएकाले अपराधसँग जुध्न अनुसन्धानमा नयाँ–नयाँ प्रविधिको विकास गर्नुपर्ने बताए ।