इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको युनिक एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ ।
झण्डै एक दशकदेखि उच्च शिक्षा अर्थात् कक्षा ११ र १२ को अध्यापन गर्दै आएको युनिक एकेडेमीका कक्षा १२ का विद्यार्थीहरुले नयाँ भर्ना भएर कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई खादा र टिका लगाइदिँदै स्वागत गरे । सुनसरी जिल्ला प्याब्सनका उपाध्यक्ष रमेश कार्कीको प्रमुख आतिथ्यमा भएको औपचारिक स्वागत कार्यक्रममा रामधुनी नगर प्याब्सनका अध्यक्ष तथा माउण्ट समिट बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक अच्युत ढकाल, स्थानीय टोल विकास सँस्थाका अध्यक्ष नेत्रप्रसाद गौतम तथा युनिक एकेडेमीका शिक्षक एवं विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
युनिक एकेडेमीमा अध्ययनरत छात्रा सविना खड्काको स्वागतसँगै विद्यालयका संयोजक राम चौधरीको स्वागत मन्तव्य र स्वागत नृत्यले रोचक बनाएको कार्यक्रमलाई विद्यार्थीहरुको सामुहिक नृत्य तथा गायनले विद्यार्थीलाई भव्य स्वागत गरेको महसुस गराएको थियो । कार्यक्रममा विद्यालयका शिक्षकद्वय सुरज कुँवर र लक्ष्मण गौतमका शव्दहरुले स्वागत गरेका थिए भने छात्र रितिक माझीको नृत्यले युनिक एकेडेमीको उत्कृष्ट उत्पादनलाई झल्काएको थियो । कार्यक्रममा बोल्दै रामधुनी प्याब्सनका अध्यक्ष अच्युत ढकालले विद्यार्थीले विद्यालयमा पढ्ने मात्र नभई्र अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिनुपर्ने भनाइ राखेका थिए ।
प्रमुख अतिथिको रुपमा उपस्थित भएका सुनसरी प्याब्सनका उपाध्यक्ष रमेश कार्कीले गोल्डेन ब्रिजसँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेकाले विद्यार्थीलाई युनिकमा पुगेपछि समस्या हुन्छ कि भन्ने लागेकोमा त्यो नभएको र आफूलाई खुसी लागेको बताए । युनिक एकेडेमीले गोल्डेन ब्रिजमा भएको भन्दा राम्रो सुविधा दिनेछ भन्नेमा आफू विश्वस्त रहेको प्रमुख अतिथि कार्कीले बताए । युनिक एकेडेमीका छात्र छविरमण दाहालले सञ्चालन गरेको कार्यक्रम प्रिन्सिपल उमेश थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम समापन गर्दै प्रिन्सिपल थापाले उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नमा युनिक प्रतिबद्ध भएको बताउँदै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका थिए ।