काठमाडौँः काठमाडौँको होटल येल्लो प्यागोडामा कार्यकारी परिषद्को बैठक बसिरहेको अवस्थामा हिजो नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीहरुको समूहले कागजात नियन्त्रणमा लिएपछि त्रिभुवन विश्वविद्यालयले घटनाको निन्दा गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विद्यार्थी हौँ भन्दै  १०÷१५ जनाको समूहले कागजात लुटेको आरोप लगाएको छ ।

त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “...विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटेल एल्लो प्यागोडामा मिति २०७९÷५÷१० को दिन बेलुकी ४ः३० बजे बस्ने क्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौँ भन्दै १०÷१५ जनाको समूह जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने÷कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदिजस्ता अभद्र व्यवहार गरी महत्त्वपूर्ण कागजात लुटी लिने कार्य गरेकोप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

“प्रत्येक नागरिक तथा राष्ट्रसेवक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने, पेसा वा रोजगार गर्न पाउने संविधान तथा कानुनले प्रत्याभूत गरेको संवैधानिक तथा कानुनी हकको विपरीत हुने गरी कानुन आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरूप्रति दुर्व्यवहार गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका छन्,” विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले भने होटलमा त्रिवि कार्यकारी परिषदका बैठक गरेको पाइएपछि कागजपत्र नियन्त्रणमा लिई उपकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई गत शुक्रबार नै बुझाइएको बताएका छन् ।

‘कार्यकारी बैठकका लागि त्रिविमा पर्याप्त ठाउँ छन्। तथापी विश्वविद्यालयप्रति अनुत्तरदायी पदाधिकारी हामीले कलम÷कापी किन्दा तिरेको करबाट राज्य स्रोतको दोहन गर्दैछन्। विश्वविद्यालयमा बस्नुपर्ने बैठक तारे होटलमा गरेर विभिन्न नियुक्तिमार्फत् लाखौं अनियमितता गर्ने उपकुलपतिको सम्पूर्ण पाइल शिक्षा मन्त्रीलाई बुझाइएको छ’ रावलले भनेका छन् ।