इटहरीः चिकित्सा शिक्षा सुधारकाृ विभिन्न मागसहित सरकारविरुद्ध लामो समयदेखि शान्तिपूर्ण सत्याग्रहका माध्यमबाट दबाब बढाउँदै आएका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आफ्ना माग पूरा नभए भदौ २७ गतेदेखि २०औं सत्याग्रहमा बस्ने तयारीमा लागेका छन् । डा. केसीले आज पत्रकार सम्मेलन गर्दै सरकारसँग आफूले राखेका माग पूरा नभए सत्याग्रहको घोषणा गरेका हुन् । 

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभृूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने, स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था तथा देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरिनुपर्ने र सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरिनुपर्ने माग राख्दै डा.केसीले अनसनको तयारी गरेका हुन् ।

डा. केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन भने कहिल्यै गर्न नचाहने प्रवृत्ति हरेक दलको नेतृत्वमा बन्ने सरकारमा हावी हँुदा डा.केसीको अनसन पटकपटक दोहोरिने गरेको छ ।