इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्न सरकारलाई रूलिङ गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा त्रिविको कार्यालयमा गत असारदेखि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी र एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले हिजो गरेको ताला खोल्ने प्रयासका क्रममा उत्पन्न विवादबारे प्रश्न उठेपछि सभामुखले रुलिङ गरेका हुन् ।

प्रनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सरकार संरक्षितहरूबाटै त्रिविमा अवरोध भइरहेको बताएका थिए । प्राध्यापक आक्रमण गर्ने र तीन वर्षमा तीन सय दिन तालाबन्दी गर्ने नेविसंघ कार्यकर्तालाई सरकारले संरक्षित गरेको आरोप पनि उनले लगाए । त्यसपछि सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाउँदै रुलिङ गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ। सभाको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने । 

काठमाडौँको होटल येल्लो प्यागोडामा कार्यकारी परिषद्को बैठक बसिरहेको अवस्थामा गत शनिबार नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीहरुको समूहले कागजात नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट अर्थात् हिजो त्रिभुवन विश्वविद्यालयले घटनाको निन्दा गरेको थियो । त्रिविले विज्ञप्ति जारी गर्दै विद्यार्थी हौँ भन्दै  १०÷१५ जनाको समूहले कागजात लुटेको आरोप लगाएको थियो ।

नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले भने होटलमा त्रिवि कार्यकारी परिषदका बैठक गरेको पाइएपछि कागजपत्र नियन्त्रणमा लिई उपकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई गत शुक्रबार नै बुझाइएको बताएका छन् ।

‘कार्यकारी बैठकका लागि त्रिविमा पर्याप्त ठाउँ छन्। तथापी विश्वविद्यालयप्रति अनुत्तरदायी पदाधिकारी हामीले कलम÷कापी किन्दा तिरेको करबाट राज्य स्रोतको दोहन गर्दैछन्। विश्वविद्यालयमा बस्नुपर्ने बैठक तारे होटलमा गरेर विभिन्न नियुक्तिमार्फत् लाखौं अनियमितता गर्ने उपकुलपतिको सम्पूर्ण पाइल शिक्षा मन्त्रीलाई बुझाइएको छ’ रावलले भनेका छन् ।