इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्महत्या प्रयास गरेका छन् ।

आत्महत्या प्रयास गर्नेमा मानसिक रोगको उपचारका लागि अस्पताल भर्ना भएका झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज बिहान ७ः१० बजे आत्महत्याको प्रयास गरेका लुइँटेलको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।

परिवारका सदस्यसँगै रहेका लुइँटेलले अस्पतालबाट हाम फालेपछि टाउको, निधार लगायतका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । लुइँटेल भदौ १० गतेदेखि अस्पताल भर्ना भई उपचाररत रहेको नोबेल अस्पताल प्रशासनले जनाएको छ ।