काठमाडौँः स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
काठमाडौँमा रहेका सरकारी अस्पतालहरूको सरसफाइ र सेवासम्बन्धी मन्त्री खापुङ र मेयर साहृबीच भेटवार्ता भएको हो । करिब एक घण्टा लामो छलफलमा मेयर साहले सरकारी अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ नभएको, सरसफाइको कमी भएको गुनासो आएको बताए । यही विषयमा स्वास्थ्य मन्त्री खापुङसँग भेट गर्न मेयर साह मन्त्रालय पुगेका थिए । ‘मेयर साहलाई जनताले सरकारी अस्पतालहरूमा सेवा सर्वसुलभ भएन । सरसफाइ भएन र व्यवहार पनि राम्रो भएन भन्ने गुनासो आएको भन्नु भएको थियो । त्यही विषयमा छलफल गर्न उहाँ आज मन्त्रीज्यूसँग कुरा गर्न आउनुभएको थियो ।’ मन्त्री खापुङले यसअघि नै सरकारी अस्पतालका निर्देशकहरूलाई स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र सरसफाइ गर्न केही साताअघि निर्देशन दिइसकेको छ ।
मेयर साहले यसअघि सरकारी अस्पतालहरूमा अनुगमन जान मन्त्री खापुङलाई अनुरोधसमेत गरेका थिए । तर मन्त्री खापुङले पहिले अस्पतालका निर्देशकहरूसँग प्रगति विवरण अध्ययन गरी अघि बढ्नुपर्ने बताएका थिए । उनले भने, ‘काठमाडौँका मेयरले सरकारी अस्पतालहरू फोहोर छन् । बेड सिटहरू फेरिँदैन । ट्वाइलेट सफा हुँदैन भन्ने विषयहरूमा जिज्ञासा राख्नु भएको थियो । मन्त्री खापुङले पहिले नै यससम्बन्धी निर्देशन दिइसक्नु भएकाले अस्पतालका निर्देशकहरूले ब्रिफिङ गर्नु भएको थियो ।’