इटहरीः पाँच वर्षका लागि चुनिएका प्रदेशसभा सांसदहरुले नाम दिन नसके पनि प्रदेश नम्बर १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषित गरेको हो । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरेका हुन् । प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर जिल्लाको रुपमा घोषणा गरिसकिएको थियो । प्रदेश नम्बर १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सुगम जिल्लाहरूमा साक्षरता प्रतिशत कम देखिएको छ भने दुर्गममा बढी छ ।

306055813_1223510061762604_3303457019377026367_n

तथ्याङ्कअनुसार पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् भने झापामा ९८.३३ प्रतिशत, धनकुटामा ९७ .५ प्रतिशत ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत र सुनसरीमा ९५.५ प्रतिशत मोरङ ९६.५ प्रतिशत रहेका छन् ।

 प्रदेश १ का झापा मोरङ र सुनसरी जिल्ला सुगममामा पर्छन् । अन्य पहाडी जिल्लाको तुलनामा यी जिल्लामा साक्षरता कम देखिएको छ । यस्तै तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८प्रतिशत, उदयपुरमा ९५.३२ प्रतिशत, संखुवासभामा ९५.६३ प्रतिशत, ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत मानिस साक्षर रहेका छन् । १४ जिल्लाको जम्मा साक्षरता ९६.७४ प्रतिशत रहेको छ । नेपालमा २०७१ सालदेखि साक्षर जिल्ला घोषणा गर्न थालिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए सो क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।

304983627_1468564850285738_4437518047428003919_n

प्रदेश १ मा ४५ लाख ३४ हजार नौ सय ४३ जनसंख्या रहेकोमा ९६.७४ प्रतिशत साक्षर रहको सामाजिक विकास मन्त्री राजन राई बताउँछन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा समेत प्रदेशलाई साक्षर घोषणा गर्ने उल्लेख गरिएको थियो । यो घोषणासँगै प्रदेश १ तेस्रो साक्षर प्रदेश बनेको छ । यसअघि वाग्मती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिसकिएको छ । आगामी आर्थिक वर्षमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने मन्त्री राईको भनाइ रहेको छ ।