धरानः एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ । असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो । 

भोजपुरे सेवा समाज काठमाडौँले एकल साँझको आयोजना गर्न लागेको हो । राष्ट्रि«य नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए । नेपाल जेष्ठ नागरिक संरक्षण संघ ट्याम्केमैयुङ–३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्थापन सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ । ‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो । यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए ।  

मुकारुङ भोजपुरको ट्याम्केमैयुङ–३ अन्नपूर्णका हुन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन् । उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन् । उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन् ।