विराटचोक/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको जवाफ नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ र प्रमुख प्रशासकीय अधिकृत जीवन आचार्यले दिएका थिए ।

उपभोक्ता समितिलाई वडा समितिले अनावश्यक दुःख दिने गरेको, सामुदायिक विद्यालयको अवस्था दयनीय रहेको, मजदुरका समस्या समाधानमा चासो नदिएको, लक्षित वर्गलाई तालिम दिने तर स्वरोजगार बन्न अभिप्रेरित गर्ने गरी कार्यक्रम ल्याउन नसकेको भनी नगरवासीले आरोप लगाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतलाई मातहतका कर्मचारीले नटेरेजस्तो देखिएको सहभागीले बताएका थिए । प्रमुख प्रशासकीय अधिकृतले तोक लगाएको काम विभागीय शाखा प्रमुखले गर्न नचाहेको तथा विभिन्न बहानामा झुलाउने प्रवृत्ति देखिएको सहभागीको भनाइ थियो । प्रथम नगरसभाबाट पारित भएको ‘मुस्कानसहितको सेवा, जनताको पेवा’ नारामा मात्रै सीमित भएको नगरवासीको आरोप थियो ।

नगरवासीले सोधेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख ढकालले पहिलो वर्ष काममा अभ्यस्त हुन समय लागेकाले प्रथम नगरसभाबाट पारित सबै निर्णय कार्यान्वयन गर्न नसकिएको बताए । ती निर्णय कार्यान्वयनको चरणमा रहेका र क्रमशः कार्यान्वयन गरिने उनको भनाइ थियो । शिक्षा क्षेत्रको विकृति हटाउन र मजदुरका माग सम्बोधन गर्न नगर कटिबद्ध भएको ढकालले बताए ।

वडाबाट छनोट भएका योजनाको बारम्बार बिल भुक्तानीमा समस्या देखिनुमा उपभोक्ता समिति, जनप्रतिनिधि तथा अन्य पक्ष कानुनी र प्राविधिक पक्षमा कमजोर देखिनु मुख्य कारण भएको उनको भनाइ थियो । बारम्बार हुने नीति परिवर्तन तथा मन्त्रालय, अख्तियार तथा अन्य निकायको समन्वयको अभावले पनि काम गर्न गाह्रो भएको उनले प्रष्ट पारे । अब विकास निर्माणका योजनाको सम्झौता वडामै हुने तथा उपभोक्ता समितिलाई दिइने अनुशिक्षणमा सहभागी भई प्रमाणपत्र लिएपछि मात्रै उपभोक्ता समिति गठन गरिने ढकालले बताए ।

वडामा प्राविधिक राख्ने तयारी
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आचार्यले प्रत्येक वडामा १ जना प्राविधिक राख्ने तयारी भइरहेको जनाएका छन् । ‘अब प्रत्येक वडामा प्राविधिक राखी उपभोक्ता समितिलाई प्राविधिक पक्षको जानकारी दिने कोशिस गर्नेछौं’, नगरवासीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘उपभोक्ताले समितिलाई, समितिले वडाध्यक्षलाई, वडाध्यक्षले मेयरलाई र मेयरले कर्मचारीलाई दबाब दिने गरिएको छ ।’

विभिन्न योजना सम्पन्न भएपछि हिसाबकिताब फरफारक नहुनुमा प्राविधिक पक्षमा कमजोर हुनु नै प्रमुख कारण भएको उनको भनाइ थियो । त्यस्तै, काम गर्ने कर्मचारीलाई मात्रै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको र सबै कर्मचारीले त्यस्तो भत्ता नपाउने उनले बताए । कर्मचारीले प्रोत्साहन भत्ता लिने तर सेवाग्राहीको काम भने नगर्ने पद्धति बस्दै गएको भनी नगरवासीले राखेको जिज्ञासाको क्रममा उनले यस्तो बताएका हुन् ।

अबका योजना
नगरप्रमुख ढकालका अनुसार साउन पहिलो सातापछि नगरभित्रका ९ वटा बस स्टेसनलाई व्यवस्थित गरिने छ । गछिया र बलियामा रहेका पशुहाटलाई व्यवस्थित गरिने तथा गछिया र विराटचोकमा स्थायी तरकारी बजार शुरु गर्न तयारी गरेको पनि उनले जानकारी दिए । न्याय सम्पादन कार्यालय वडा नम्बर ४ मा स्थापना गरी सेवा प्रवाह गरिने उपप्रमुख तामाङले बताइन् । १ घर ४ बिरुवा रोप्ने नीतिलाई कडाइका साथ लागु गरिने पनि नगरले जनाएको छ ।

८८ प्रतिशत बजेट खर्च
प्रमुख प्रशासकीय अधिकृत आचार्यले आर्थिक प्रगति प्रस्तुत गर्दै चालु आर्थिक वर्षको असार १५ गते सम्ममा ८८ प्रतिशत बजेट खर्च भएको जनाएका छन् । चालु आर्थिक वर्षको लागि ७३ करोड ९१ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार १५ गतेसम्ममा ६४ करोड ५८ लाख १२ हजार रुपैयाँ खर्च भएको उनले जनाए ।

चालु आर्थिक वर्षमा ५ सय ९७ वटा आयोजना सञ्चालन भएकोमा १५ वटा आयोजना क्रमागत योजनामा परेको पनि उनले जनाए । रेडियो सुसेलीको सहजीकरणमा कार्यक्रम भएको थियो ।

सार्वजनिक सुनुवाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन आचार्यले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक प्रगति विवरणको पूर्ण पाठ ः