काठमाडौंः डेंगी संक्रमणबाट नेपालमा हालसम्म २० जनाको मृत्यु भएको छ । हिजोसम्मको रेकर्ड अनुसार संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो संख्या असोज २ गतेसम्मको हो । महाशाखाको तथ्यांक अनुसार हालसम्मको सबैभन्दा धेरै ललितपुरमा चार हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा चार हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ५९७ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । दाङमा ९९४, रुपन्देहीमा ६५९ चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ । अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ । डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु विज्ञहरूको सुझाव छ ।
डेंगी निको हुने विश्वासमा मेवाको पातलगायत घरेलु औषधिहरू प्रयोग नगर्न तथा दुखाई कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।