इटहरीः भारतीय सीमासँग जोडिएको झापाको काकडभिट्टा नगरपालिका क्षेत्रका आँखा अस्पतालहरुमा भारतीय बिरामीहरु उल्लेख्य संख्यामा उपचारका लागि आउने गरेको पाइएको छ ।

मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेको पाइएको हो । भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् । 

काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पतालका प्रशासन प्रमुख सुरेश सापकोटाका अनुसार उक्त अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउने १४ हजार दुई सय ८३ मध्ये ८० प्रतिशत भारतीय नागरिक थिए । 

मेची अभियानका संयोजक विजय डालमिया नेपालमा आँखाको उपचार सस्तो र राम्रो भएको हुँदा भारतीय नागरिक बढी आउने गरेको बताउँछन् । 

भारतसँगको खुल्ला सिमाना र आउतजावतमा समस्या नहुँदा पनि उपचार गर्न आउन उनीहरुलाई सजिलो भएको उनको भनाइ छ । 

यसैगरी काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा विगत १५ वर्षदेखि सञ्चालनमा रहेको मेची नेत्रालयमा पनि उपचार गराउन आउने आँखाका बिरामीमध्ये ७० प्रतिशत भारतीय हुने गरेको अस्पतालकी प्रशासन प्रमुख पुनम प्रधान बताउँछिन् । उक्त अस्पतालमा गत आव ४४ हजार छ सय २२ आँखाका बिरामीको उपचार भएको उनको भनाइ छ ।

प्रशासन प्रमुख  प्रधानका अनुसार भारतका विभिन्न स्थानबाट आउने आँखाका बिरामी बच्चादेखि वृद्धसम्म हुने गरेका छन् ।

झापाको ठूलो व्यापारिक सहरको रुपमा चिनिएको विर्तामोड क्षेत्रमा पनि तीन ठूला आँखा अस्पताल छन् । मेची आँखा अस्पताल, दृष्टि र विर्तामोड आँखा अस्पतालका सेवाग्राही आधाजति भारतीय नागरिक नै हुने गरेका छन् । 

जिल्लामा सबैभन्दा पुरानो र ठूलो मेची आँखा अस्पताल हो । यो अस्पतालले स्थापनाको २६ वर्ष पार गरिसकेको छ । यो अवधिमा अस्पतालमा ५० प्रतिशतभन्दा बढी भारतीय बिरामीले सेवा लिएको अस्पतालको भनाइ छ ।