काठमाडौंः भाइटीकाको उत्तम साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको हेको जनाएको छ । समितिले सोमबार(हिजो) विज्ञप्ति जारी गर्दै नेपालका लागि कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा सबैभन्दा उत्तम रहेको उल्लेख गरेको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ । तपाई कहाँबाट हेर्दै हुनुुन्छ यो तालिकामा हेरेर आफ्नो समयानुकुल टिका लगाउन सक्नुहुनेछ ।

हिन्दू पञ्चाङ अनुसार कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ । भाइटीकालाई भैया दूज, यम द्वितीया, भाई तिहार, भ्रातृ द्वितीया, किजापूजा आदि नामले पनि मनाउने गरिन्छ । नेपाल, भारत लगायतका देश तथा वैदिक सनातन हिन्दूहरु रहने विश्वभरका हिन्दूहरुले यस दिन यो पर्वलाई दिदीबहिनी तथा दाजूभाईहरुबिच एकअर्का प्रतिको स्नेह, समर्पण तथा अगाध मायाको प्रतिकको रुपमा मनाउने गरिन्छ ।

भाइटीका पर्व नेपालभर धूमधामले मनाउने गरिन्छ । यस दिन दिदीबहिनीहरुले आफ्नो दाजूभाईको निधारमा सप्तऋषि तथा सातवटै ग्रहको प्रतिकको रुपमा सात रङको टीका लगाउने चलन छ । यी रङहरुले टीका लगाउँदा विधिपूर्वक दिदीबहिनी तथा दाजूभाइको उज्ज्वल भविष्य तथा दीर्घायूको कामना गर्ने गरिन्छ । यस दिन दिदीबहिनीहरु तथा दाजूभाइहरु एक ठाउँमा जम्मा भई एकआर्कासँग यस विशेष दिनका लागि भेट्न र यस पर्वको आनन्दमा डुब्न उत्साहित रहन्छन् ।

तिहार, दिपावली, दिवाली आदी नामले परिचित यो चाड नेपाल तथा भारत लगायतका देशहरुमा बिजयादशमी पछि मनाइने दोस्रो ठुलो चाड हो । यो यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ । यो टीका लगाउने एउटा प्रकृया मात्र नभई दिदीबहिनी र दाजूभाइले एक अर्कालाई गर्ने सम्मान तथा भगवानको दर्जामा राखेर पूजा गर्ने हाम्रो वैदिक सनातन हिन्दू संस्कृतीको ब्यापक गर्विलो पर्व पनि हो ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई मिठा मिठा परिकारहरु जस्तै, सेलरोटी, अनर्सा, अतिस्वास्थ्यवद्र्धक सुखाइएका फलफूलहरु (काजू, किसमिस, नरिवल, ल्वाङ, सुकमेल, कटुस, हाडे बदाम, मखान) तथा मनपर्ने स्वादिष्ट परिकार तथा मिठाईहरु दिने गरिन्छ । दिदीबहिनीहरुको स्वाद र आशिर्वादको माया स्वरुप दाजुभाइहरुले पनि आफ्ना प्यारी दिदीबहिनीलाई गक्षअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ ।

भाइटीकाको दिन मण्डला अथवा स्वस्तीक चिन्हको रेखी कोरेर दियो, कलश र गणेशको स्थापना गरी पूजा सामाग्रीहरु तयार गरिन्छ । र यसमा विशेषत् अबिर केसरी बाहेक सात रङहरुलाई बेग्ला बेग्लै राखेर पूजाको तयारी गरिन्छ । पूजामा अर्को आवश्यक सामाग्री भनेको बिमिरो, मखमली फूलहरु, सुपारी फूलको अथवा मखमली फूलको माला, कटुस, भाइमसला आदी हुन् ।

त्यसपछि दाजूभाईलाई पूजास्थानमा पूर्वतर्फ फर्काएर आसनमा बसाईन्छ र तोरीको तेल र पानी मिसिएको पानीको घडामा दूबो चोपेर दाजूभाइको टाउकोमा दल्ने गरिन्छ । यसपछि यमराजको आह्वान गरेर दैलोमा ओखर राखेर पत्थरको लोहोरोसहित पूजा गरिन्छ । त्यसपछि पानी र तेल राखिएको घडा (कलस) तक्र्याउँदै पूजास्थललाई सात फन्को पारेर घेरिन्छ । अब त्यस घेराभित्र, दिदीबहिनी तथा दाजूभाइलाई पूजा नसक्किएसम्म कसैले छुन या त्यस घेरा भित्र छिर्न मनाहि हुन्छ ।

अब पूजाको दोस्रो चरण प्रारम्भ हुन्छ, अर्थात दिदी बहिनीले दाजूभाइको काँध, शीर, घुँडा र छातीमा फूल र अक्षेता छर्किएर भाइपूजाको विधि प्रारम्भ गर्ने गर्दछन् । त्यसपछि तीलको तेलमा बालिएको दियोले आरती उतार्दै घण्टी डोलाउने गरिन्छ । दाजूभाइहरु भने दिदीबहिनीहरुको सामू पलेटी कसेर हात जोडी बसिरहन्छन् । आरती गरिसकेपछि टीकाको प्रकृया प्रारम्भ हुन्छ ।