तारा पराजुली 


यो माटोको रङ खुब मन परेर

यो माटोको सुवास बहुत सुगन्धित लागेर

पुतलीले फूललाई प्रेम गरे झैँ

माटोको प्रेमका खातिर

आँगन अगाडि भयानक दलद्लमा पनि

कमल फुलेको देखेर

रोपेर पसिनाका बुँद जीवन अवश्य फूल्छ सम्झेर

मैले देश नछोड्ने निर्णय गरें।


हिमलेकको पथ्थरै पथ्थरको भीरमा पनि

चुँगाथुँगा चाप फुलेको देखेर

यही माटोमै जीवन फक्रेला

केही हरफ श्रमका बीजन छर्नसके भन्ने लागेर नै

यो माटोको आयतन नाप्दै नाप्दै

यही माटोको सुगन्ध टिप्दै

गाउँ छोडेर सहरसम्म पसेकी हुं।


सहरमा अनेक विकल्पहरु खोज्दै जाँदा

आफैँ विकल्प भएपछि

मैले रहर गुडाउन एउटा ठेलागाडा किनेकी हुँ

मेरो आफ्नै साइजको।


आफूभन्दा अग्लो कर्जाको भारी बोकेर

गुडाउँदै थिएं आफ्नै पसिना साट्दै गरेको ठेला

त्यसैले टार्दैथिएं अफ्ट्यारा साँझविहान

र फुलाउँदै थिएँ रहरको सानो फूलबारी।


हुरीले घर भत्काए झैँ

एकदिन मैले शीर मानेको एउटा मान्छे 

कठोर शाषक बनेर आयो र 

खोसेर लग्यो मैले ठेल्दै गुडाउँदै गरेको 

एउटा सपनाको वस्ती

म पटकपटक चिच्याएँ

सानो दुधे बालक छ पिठिउमा

उसको मुखको गाँस नखोसिदेउ भनेर

म बिन्ती गरिरहें बाच्ने रहर छ 

बाच्न देउ भनेर

अहँ उसले न मेरो चित्कार सुन्यो

न उसलाई मेरो वेदनाले नै छोयो।


आज पुर्पुरोमा हात राखेर सोच्दैछु

कस्तो चित्त नबुझ्ने अभ्यास गर्दैछ मेरो सहर? 

सडकभरि हाम्रा चिसा आँसुले पोतेर

मान्छेविनाको 

यो कस्त्तो बिकासको चित्र छायांकन हुँदैछ


आज पनि लाजले अनुहार देखाउँन नसकेर झुल्किएको छैन सर्वहारा घाम

अचेल तिम्रो सहर 

हर्दम गरिबिको खिल्ली उडाउछ 

मजबुरीको उपहास गर्छ।


म त सानू मान्छे 

आवाज सानो अनुहार मलिन छ

कसैले सम्झाईदिनुस् न यिनलाई 

असाध्यै कुरुप हुन्छ

हरियाली विनाको बगैँचा भनेर

र यो पनि सम्झाइदिनुस् 

कर्म गर्नेहरु बसेको सहर पो सुन्दर हुन्छ भनेर।


                                 बेलबारी,मोरङ